
पोखरा। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा २१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव २०८३’ आइतबारदेखि सुरु भएको छ। पर्यटन, संस्कृति र खानालाई मुख्य प्राथमिकता दिँदै होटल संघ पोखरा नेपालको आयोजनामा यो महोत्सव वैशाख १ गते रातिसम्म सञ्चालन हुनेछ।
महोत्सवको औपचारिक उद्घाटन कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अम्बोटमा आयोजित विशेष समारोहमा गरिन्। उद्घाटन हुनुअघि खहरेबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकी र पञ्चैबाजासहितको र्याली निकालिएको थियो। उद्घाटन सत्रमा सातै प्रदेशका सांस्कृतिक नृत्य र तरेली सांस्कृतिक परिवारको विशेष स्वागत नाच प्रस्तुत गरिएको थियो।
सोमबार खहरेदेखि अम्बोटसम्म १५ वटा समूहबीच पञ्चैबाजाको विशेष प्रतियोगिता हुनेछ। गौरीघाट, सेन्टर प्वाइन्ट र अम्बोटका चौताराहरूमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।
खहरे क्षेत्रमा रत्यौली प्रदर्शन र पर्यटक दौड जस्ता रोचक प्रतियोगिताहरू आयोजना गरिनेछन्। सहिदचोकदेखि खहरेसम्मको सडकमा आयोजना हुने यस महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नयाँ वर्ष मनाउन पोखरा पुग्ने पर्यटकका लागि होटल संघले विशेष अफरहरू सार्वजनिक गरेको छ । सहभागी होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्।
ई-सेवामार्फत होटल बुक गर्दा पर्यटकले थप १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उद्घाटनका क्रममा प्रजिअ शर्माले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गरिनु सकारात्मक भएको बताउँदै यहाँको सुरक्षा र सुन्दरतामा जोड दिइन्। त्यस्तै, होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले अब पोखराले भारतीय र चिनियाँ पर्यटक प्रवद्र्धनमा ध्यान दिनुपर्ने सुझाव दिए।
होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रमलाई संघकी सचिव पार्वता पाण्डेले सञ्चालन गरेकी थिइन्। महोत्सवलाई नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले प्रवद्र्धन गरेका छन्।


