
पोखरा । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा पोखरा-४ स्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले शिक्षक(शिक्षिकाहरूका लागि दुई दिने अङ्ग्रेजी भाषा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
मन्टेश्वरीदेखि कक्षा १० सम्म अध्यापन गराउने शिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा अङ्ग्रेजी भाषा शिक्षणको आधुनिक र प्रभावकारी विधिका बारेमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको सहजीकरण माल्भर्न कलेज यूकेका हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपु नाथन स्मिथले गरेका थिए। उनले विद्यार्थीहरूलाई कसरी प्रभावकारी रूपमा अङ्ग्रेजी सिकाउने र शिक्षण प्रक्रियालाई कसरी रुचिपूर्ण बनाउने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विज्ञान र प्रविधिको बढ्दो प्रयोगसँगै शिक्षण सिकाइ क्रियाकलाप चुनौतीपूर्ण बन्दै गएको बताए।
उनले भने, ‘शिक्षण क्षेत्रमा आएका नयाँ चुनौतीहरूको सामना गर्न शिक्षकहरूका लागि यस्ता पुनर्ताजगी कार्यक्रमहरू अनिवार्य भइसकेका छन्। हामी छिट्टै माल्भर्न कलेजसँग संस्थागत सहकार्य गरेर अगाडि बढ्ने योजनामा छौँ।’
मेजर कृष्ण बहादुर गुरुङ र हितमान गुरुङको संयोजकत्वमा सञ्चालित यस कार्यक्रमले निजी मात्र नभई सामुदायिक विद्यालयका शिक्षकहरूको समेत अङ्ग्रेजी स्तर उकास्ने लक्ष्य राखेको छ।
संयोजक मेजर कृष्ण बहादुर गुरुङका अनुसार शिक्षकहरूको शिक्षण शैलीमा सुधार ल्याई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यस्ता प्रयासहरू निरन्तर जारी रहनेछन्। कार्यक्रमको बारेमा शिक्षक सुरेन्द्र सदिच्छाले थप जानकारी गराएका थिए।

