
पोखरा । पोखराको हेमजामा जारी राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्म करिब ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नयाँ वर्ष र सार्वजनिक बिदाको अवसर पारेर दर्शकहरूको उल्लेख्य उपस्थिति भएपछि महोत्सवमा चहलपहल ह्वात्तै बढेको हो।
महोत्सवमा मुख्य आकर्षणका रूपमा रहेको हेमजाको आलु प्रतिकेजी रु. ३५ मा बिक्री भइरहेको छ। आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीका अनुसार आइतबारसम्म ८ लाख रुपैयाँ भन्दा बढीको आलु मात्रै बिक्री भइसकेको छ।
ग्राहकले न्यूनतम १ केजीदेखि अधिकतम ६० केजीसम्म आलु खरिद गरेका छन्। औसतमा ग्राहकले २० देखि ३० केजीको बोरा लैजाने गरेका छन्। कास्कीका छिमेकी पालिका मात्र नभई तनहुँ, पर्वत, बागलुङ र स्याङ्जाबाट समेत उपभोक्ताहरू विशेष गरी आलु किन्नकै लागि महोत्सव स्थल पुग्ने गरेका छन्।
‘हेमजाको आलु मिठो र चाँडो पाक्ने मात्र होइन, बजारमा पाइने अन्य आलुको तुलनामा स्वास्थ्यकर पनि छ, त्यसैले हामी यहाँसम्म आएका हौँ,’ तनहुँ भिमादबाट आएकी सुनिता श्रेष्ठले बताइन्।
महोत्सवको तेस्रो दिन आइतबार चर्चित कलाकारहरू बद्री पंगेनी, ममता तामाङ, रोशन विसी, मुना अर्याल लगायतले सांगीतिक प्रस्तुति दिएका थिए। आइतबारबाटै रत्यौली गीत प्रतियोगिता समेत सुरु भएको छ भने साँझ पप कन्सर्टमा देउराली र लेकाली ब्याण्डले दर्शक नचाएका थिए।
सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, राजेन्द्र गुन्द्रुके लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।महोत्सवमा ३० वटा कृषि स्टल, आलुको परिकारको १ विशेष स्टल र १०० भन्दा बढी व्यापारिक स्टलहरू रहेका छन्। आलुको पहाड निर्माण, कृषि झाँकी, माटो परीक्षण तथा बालीको रोग निदान शिविर कृषि प्रदर्शन छन्।
आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार आइतबारसम्म २५ हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिसकेका छन्।



