
पोखरा । नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा नेपाल) को आयोजनामा युथ लिडरसिप प्रोग्राम २०२६ को पहिलो चरणको कार्यक्रम शनिबार ललितपुरमा सफलताका साथ सम्पन्न भएको छ। इन्जिनियरिङ, अटोमोबाइल, साहसिक पर्यटन र मोटरसाइकलिङ्ग स्पोर्ट्स क्षेत्रमा आबद्ध ६८ जना युवाहरूको सहभागिता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली मोटरस्पोट्र्स र सुरक्षित गतिशीलताको क्षेत्रमा भविष्यको नेतृत्व तयार गर्नु रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मोटरस्पोट्र्स नेपाली युवाहरूमाझ लोकप्रिय खेलका रूपमा विकसित भइरहेको बताए।
उनले यस्ता तालिमले युवाहरूलाई सक्षम र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। त्यस्तै, परिषद्का कार्यकारी सदस्य सुवर्ण केसरी श्रेष्ठ र पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनसँगको सहकार्यमा आयोजित यो कार्यक्रम आगामी डिसेम्बरसम्म सञ्चालन हुनेछ। कार्यक्रम को(अर्डिनेटर कमला छेत्रीका अनुसार १२ वटा सत्रहरू (भौतिक, भर्चुअल र प्रयोगात्मक) मार्फत सहभागीहरूलाई मोटरस्पोट्र्स व्यवस्थापन, सडक सुरक्षा, मिडिया तथा सञ्चार, खेल नवप्रवर्तन र एफआइए लिगेसी तथा टु(ह्विल तथा एड्भेन्चर टुरिजम विषयमा तालिम दिइनेछ ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले कार्यपत्र प्रस्तुत गरेको थियो । सौरभ ज्योति (अध्यक्ष, स्याकर ट्रेडिङ) ले मोटरस्पोट्र्स, सडक सुरक्षा र कर्पोरेट क्षेत्रको अन्तरसम्बन्ध, सुलोचना सिजाख्वा (खेल विज्ञ) ले खेलाडी विकास चक्र, डा. ज्ञानेन्द्र शाह (साउथ एशिया एन्टि डोपिङ) ले मोटरसाइकल सुरक्षा र एन्टि डोपिङ, सुरेश आचार्य (कर्पोरेट ट्रेनर) ले नेतृत्व विकास, सिर्जनशीलता र टिमवर्क तथा डा. अभिषेक श्रेष्ठ (प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज) ले मेन्टोरसिपको महत्वको बारेमा बताएका थिए।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यकारी निर्देशक गोविन्द भट्टराईले सहजीकरण गरेका थिए। कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै मोटरसाइकल कमिसनका प्रमुख अनिल कुमार बरालले नेपाली मोटरस्पोट्र्स अब प्रविधि र पर्यटनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
प्रोग्रामको आगामी सत्र अर्को महिना कुमारीपाटीस्थित कान्तिपुर भ्याली कलेजमा आयोजना हुने जानकारी दिइएको छ। यस अभियानले नेपाली मोटरस्पोर्टस्मा नयाँ उर्जा र दक्ष जनशक्ति थप्ने विश्वास नासा नेपालले लिएको छ।
