विचौलियादेखि ‘अफलाइन’ राइडर सम्म प्रहरीको फन्दामा, यस्तो छ कास्की प्रहरीको चैत महिनाको रिपोर्ट

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले यस अवधिमा अपराध अनुसन्धान, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । चैत महिनामा कास्कीमा कुल १९६ वटा मुद्दा दर्ता भएका छन्, जसमा संलग्न १५६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २९ वटा जघन्य तथा गम्भीर अपराधका मुद्दा रहेका छन् । यस्तै, अदालतबाट सजाय तोकिएर फरार रहेका ७९ जना प्रतिवादीलाई पक्राउ गरी १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढी बिगो असुल गरिएको छ ।

प्रहरीले चैत महिनामा लागुऔषध नियन्त्रणमा ठुलो सफलता पाएको छ । ५ किलोभन्दा बढी गाँजा, १७८६ एम्पुल डाइजापाम र अन्य विभिन्न लागुऔषधसहित २५ जनालाई पक्राउ गरिएको छ ।

यस्तै, पोखराको धनुष बचत तथा ऋण सहकारी संस्थाको १३ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा ७४ जनालाई प्रतिवादी कायम गरी १० जनालाई पक्राउ गरिएको छ । हालसम्म १ करोड ११ लाख रुपैयाँ फिर्ता गराउन सफल भएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा विरुद्ध पनि प्रहरी सक्रिय देखिएको छ । चैतमा सामाजिक हिंसाका २६ र घरेलु हिंसाका १२ वटा उजुरी परेका थिए । हराएका ६४ जनामध्ये ५९ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ ।

यातायात र मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २३ जना विचौलिया पक्राउ परेका छन् । चिनियाँ नागरिकलाई कुटपिट र लुटपाट गर्ने ४ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ । दुई स्थानबाट १९ जनालाई ५ लाख १४ हजार रुपैयाँसहित पक्राउ गरिएको छ । अनुमति बिना बढी भाडा लिई ‘पठाओ’ र ‘इनड्राइभर’ गर्ने १५ जना चालकलाई कारबाही गरिएको छ ।

सडक सुरक्षातर्फ ४ हजार ७५५ वटा सवारी साधनलाई कारबाही गरी ४० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । तीव्र गतिका कारण सबैभन्दा बढी (१६ वटा) दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।

चैत २५ गते पोखरा-८ मा सिर्जना पौडेल केसीको हत्यामा संलग्न मुख्य २ जनासहित ४ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस्तै, होटलमा काम लगाइदिने बहानामा महिलालाई यौन शोषण गर्ने गिरोहका २ जना र स्पा सेन्टरमा बालिकालाई काममा लगाउने ८ जना सञ्चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर वस्नेतका अनुसार प्रहरीले “अपरेसन ३६५” लाई निरन्तरता दिँदै समुदाय र विद्यालय केन्द्रित सचेतना कार्यक्रमहरूलाई पनि तीव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: