
पोखरा। कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। पोखरामा शुक्रबार आयोजित एक विशेष समारोहका बीच समाजले आफ्नो वार्षिक भित्तेपात्रो सार्वजनिक गरेको हो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा) ले नयाँ वर्षले व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।
उनले आगामी दिनमा समाजका गतिविधिहरू अझ सिर्जनात्मक हुनुपर्नेमा जोड दिँदै संस्थाको गरिमा बढाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा भर्ने र राष्ट्र समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने बताए। सोही अवसरमा उनले समाजद्वारा निकट भविष्यमा आयोजना गर्न लागिएको प्रवद्र्धनात्मक भ्रमणमा सदस्यहरूको सक्रिय सहभागिताका लागि आह्वान समेत गरे।
कार्यक्रममा सभापतित्व अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, सचिव महेश पौडेल, कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने, लोकनाथ दवाडी लगायत कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।
सहभागी वक्ताहरूले नयाँ वर्ष २०८३ ले राष्ट्रिय एकता र समृद्धिको आधार तयार पार्ने विश्वास व्यक्त गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए।
