घार्मीका कृषकलाई ५० वटा मौरीका घार वितरण

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९, घार्मीका कृषकहरूलाई व्यावसायिक प्रयोजनका लागि मौरीका घार वितरण गरिएको छ। स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य कृषकहरूलाई शनिबार एक कार्यक्रमका बीच मौरीका घार हस्तान्तरण गरेको हो।

कृषि ज्ञान केन्द्र कास्कीको अनुदान सहयोगमा ५० वटा मौरीका घार वितरण गरिएको सहकारीले जनाएको छ। कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारीका अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरूलाई घार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले घार्मी क्षेत्रको भूगोल र हावापानी मौरी पालनका लागि निकै उपयुक्त रहेको बताए। सहकारीको सक्रियताकै कारण यस क्षेत्रलाई अनुदानका लागि छनोट गरिएको जानकारी दिँदै उहाँले कृषकहरूलाई लगनशीलताका साथ व्यवसाय विस्तार गर्न सुझाव दिए।

सहकारीका अध्यक्ष पोषराज पौडेलले संस्थाले स्थानीय कृषकहरूको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए। उनले आगामी दिनमा पनि कृषक लक्षित थप प्रभावका योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।

घार वितरणसँगै कृषकहरूलाई मौरी पालन सम्बन्धी आधारभूत सीप सिकाउन प्रशिक्षणको समेत व्यवस्था गरिएको थियो। सक्षम बि फर्मका निर्देशक रमेश पौडेलले मौरीको हेरचाह र मह उत्पादन वृद्धिका विषयमा कृषकहरूलाई व्यावहारिक प्रशिक्षण दिएका थिए ।

सहकारीका उपाध्यक्ष प्रदीपराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पौडेलले गरेका थिए । भौगोलिक र प्राकृतिक दृष्टिकोणले मौरी पालनका लागि प्रचुर सम्भावना बोकेको घार्मीमा यस वितरणले कृषकहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: