
पोखरा। महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा, पोखरा-१५ ले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा भित्तेपात्रो (क्यालेण्डर) लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार पोखरा-१५ कोलपाटनस्थित कोलपाटन आमा समूहको भवनमा एक समारोहका बिच उक्त भित्तेपात्रो सार्वजनिक गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले नेपाली समाज महिला अधिकारका सवालमा क्रमशः उदार बन्दै गएको बताए।
उनले महिला सशक्तिकरण र जनचेतनामूलक कार्यमा आफ्नो वडाले सधैं सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङले जहाँ अगाडि महिला, त्यहाँ विकास पहिला भन्ने धारणा राख्दै लागु औषध न्यूनीकरणमा महिलाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।
आमाहरूले आफ्ना बालबालिकालाई सानैदेखि सही मार्गदर्शन गर्न सके समाजमा दुर्व्यसनको समस्या कम हुने उनको भनाइ थियो।
सो अवसरमा वडा सदस्य बलराम पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाट, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्य, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष उत्तम जोशी, निवर्तमान जनप्रतिनिधि पार्वती कार्की र नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गीता शर्माले स्वागत र सचिव रमिता ढुंगानाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
