पोखरामा होटलको काम लगाइदिने भन्दै बालिकाहरूको यौन शोषण, दुईको उद्धार, चार जना पक्राउ

Share:

पोखरा । होटलमा राम्रो काम र तलबको प्रलोभन देखाएर बालिकाहरूलाई अनैतिक कार्यमा लगाउने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ८ जाल्पा रोड क्षेत्रका खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी चार जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई सुरुमा होटलको काममा लगाइदिने भन्दै बोलाउने र केही समयपछि प्रलोभन तथा डरत्रास देखाएर पुरुषहरूसँग रात बिताउन र अनैतिक कार्य गर्न बाध्य पार्ने गरिएको अनुसन्धानमा खुलेको छ। प्रहरी टोलीले उक्त स्थानबाट दुई जना बालिकाहरूको उद्धार समेत गरेको छ।

पक्राउ पर्नेहरूमा दुई महिला र दुई पुरुष रहेका छन्। प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छ । जसमा परिवर्तित नाम मोरङ घर भई हाल पोखरा-१७ बस्ने २१ वर्षीया महिला, परिवर्तित नाम सिन्धुली घर भई हाल पोखरा-८ मा खाजाघर संचालन गर्ने ३१ वर्षीया महिला, विष्णु बहादुर राजभाट पोखरा0२६ बुढिबजार बस्ने ५० वर्षीय पुरुष तथा
अमिर उल्ला मिया भारत बिहार घर भई हाल पोखरा-९ नयाँबजार बस्ने ३१ वर्षीय पुरुष रहेका छन् ।

पक्राउ परेका चारै जना विरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: