पोखराको काउरेमा हनुमानजीको विशाल मूर्तिको अनावरण: धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने विश्वास

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९, काउरेमा विशाल शिलाबाट निर्माण गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवन पुत्र श्री हनुमान जीको मूर्तिको प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ।

एक विशेष समारोहका बीच पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले उक्त भव्य मूर्तिको अनावरण गरे। विशाल शिलामा कलात्मक रूपले कुँदिएको यो मूर्ति यस क्षेत्रकै धार्मिक आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ।

मूर्ति स्थापना र प्राण प्रतिष्ठाको अवसरमा दुर्गा पञ्चायन मन्दिरदेखि काउरेसम्म विशाल शोभा यात्रा निकालिएको थियो। मूर्तिमा प्राण प्रतिष्ठा गर्नुपूर्व हवन, रुद्री पाठ, लक्ष्यदिप प्रज्वलन तथा अन्य शास्त्रीय विधिद्वारा पूजाआजा गरिएको थियो।

काउरे क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने मुख्य उद्देश्यका साथ यो मूर्ति स्थापना गरिएको हो। अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले प्राकृतिक सौन्दर्यले भरिएको पोखरामा यस्ता धार्मिक संरचनाहरूले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन मद्दत पुग्ने बताए।

“यो मूर्ति केवल एउटा संरचना मात्र नभई यस क्षेत्रको आध्यात्मिक चेतना र धार्मिक पर्यटनको मेरुदण्ड बन्नेछ,” स्थानीय समितिका प्रतिनिधिले बताए। यो मूर्ति स्थापनासँगै पोखरा १९ को काउरे क्षेत्रमा चहलपहल बढ्ने र स्थानीय स्तरमा रोजगारी तथा पर्यटनका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: