
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न जुनियर टेनिस प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेका छन्। यू–१८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले फाइनलमा शास्वत बज्राचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते। त्यस्तै यू–१६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले हराउँदै स्वर्ण जित्दा स्पन्दनले रजतमा चित्त बुझाए।
यू–१६ गर्ल्सतर्फ श्वरा थापाले फाइनलमा ऐरा खत्रीलाई ४–६, ६–२, ६–१ को संघर्षपूर्ण जितसहित स्वर्ण जितिन् भने ऐरा रजत पदकमा सीमित भइन्। यू–१२ र यू–१४ गर्ल्सतर्फ सारा पन्तले उत्कृष्ट प्रदर्शन गर्दै दुबै विधामा स्वर्ण जितिन्। उनले यू–१२ मा नाइरा घलेलाई ६–२, ६–१ ले हराइन् भने यू–१४ मा श्वरा थापालाई ६–४, ६–१ ले पराजित गरिन्। यू–१२ ब्वाइजतर्फ बेदान्त चालिसेले अरित मल्ललाई ३–६, ७–६, ६–२ ले हराउँदै स्वर्ण जिते।
त्यसैगरी यू–१० ब्वाइजतर्फ कायान चालिसेले सोनाम घलेलाई ६–२, ६–४ ले पराजित गर्दै उपाधि हात पारे भने यू–१४ ब्वाइजतर्फ आरित मल्लले बेदान्त चालिसेलाई ६–४, ६–१ ले हराउँदै स्वर्ण जिते। प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रमुख प्रायोजक कुमार मोहन बहादुर शाही, उनका नाति भिग्नजित शाही, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, कास्की टेनिसका द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्का तथा टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पदक, प्रमाणपत्र र उपहार प्रदान गरेका थिए।
समापन कार्यक्रम कास्की टेनिसका कार्यवाहक अध्यक्ष नवीन चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले विगत पाँच वर्षदेखि आफ्ना नाति भिग्नजित र नातिनी मनुश्रीको सम्मानमा कुमार मोहन बहादुर शाहीले निरन्तर मुख्य प्रायोजन गर्दै देशकै ठूलो जुनियर प्रतियोगिता आयोजना गर्न सहयोग पुर्याएकोमा आभार व्यक्त गरे। वैशाख ५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा ८ वर्षमुनिदेखि १८ वर्षमुनिसम्मका करिब ९० जना जुनियर खेलाडीहरूको सहभागिता रहेको थियो।
