कास्कीमा कांग्रेसको ‘जरा अभियान’ तीव्र

Share:

पोखरा । कांग्रेसले कास्कीमा आफ्नो ‘जरा अभियान’ लाई तीव्रता दिएको छ । ‘उत्साह र विश्वासको नवीन अभियान’ भन्ने मूल नाराका साथ यो अभियान देशभर सञ्चालन भइरहेको छ ।

कास्कीमा चैत २९ गतेदेखि यसको औपचारिक सुरुवात भएको हो । पार्टीको जिल्ला कार्यसमितिले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा बैठक गरी तयारी पूरा गरेको थियो । यसबारे जिल्ला सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

केन्द्रीय प्रतिनिधिको रूपमा रेशम बानियाँ र विष्णु पौडेल कास्की आएका छन् । बानियाँ पार्टीका केन्द्रीय सदस्य हुन् भने पौडेल महासमिति सदस्य हुन् । अभियान अन्तर्गत मंगलबार कास्की क्षेत्र नम्बर १ मा भेला आयोजना गरियो । उक्त भेलाले अभियानलाई वडा र टोलसम्म पु¥याउन प्रतिनिधिहरू खटाएको छ ।

भेलामा केन्द्रीय सदस्य रेशम बानियाँले यो अभियान पार्टी संगठनका लागि निकै महत्त्वपूर्ण रहेको बताए । अर्का केन्द्रीय सदस्य तिलकबहादुर रानाभाट र कृष्ण केसीले पनि यसबारे आफ्नो धारणा राखे । उनीहरूले संगठन मजबुत बनाउन यो अभियानले ठूलो भूमिका खेल्ने दाबी गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट र सभापति किशोरदत्त बराल पनि सहभागी थिए । त्यस्तै महासमिति सदस्य सुदीपमोहन भट्टराई र दीपक गुरुङ माइला लगायतले पनि मन्तव्य राखे । यो अभियान कास्कीका ७२ वटै एकाइसम्म पुग्ने लक्ष्य राखिएको छ ।

अभियानका क्रममा केही विशेष कार्यहरू गरिने सिग्देलले बताए । पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । नयाँ सदस्यता वितरण र जनसम्पर्कका कार्यक्रम पनि साथै चल्नेछन् । विशेषगरी ‘जेन जी’ भनिने नयाँ पुस्ताका युवाहरूसँग संवाद गरिने उनले जानकारी दिए ।

कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त भेलाको सञ्चालन सचिव ओमप्रकाश गुरुङले गरे ।

कमेन्ट गर्नुहोस्
Share: