भारतमा के-वान फाइट खेल्दै नेपाली मुआथाइ खेलाडी सुस्मिता

Share:

पोखरा। नेपाली मुआथाइ खेलाडी सुस्मिता भारतमा आयोजना हुने प्रोफेसनल किकबक्सिङ प्रतिस्पर्धामा सहभागी हुने भएकी छन्। उनले आगामी मे ९ मा के-वान फाइट खेल्ने तय भएको हो।

भारतको गुजरातमा आयोजना हुने रोनिन फाइट च्याम्पियनसिप अन्तर्गत सुस्मिताले भारतीय खेलाडी आरती खत्रीसँग प्रतिस्पर्धा गर्नेछिन्। पुराना राजदरबारियाहरुको आयोजनामा हुने उक्त प्रतियोगिता व्यवसायिक स्तरको रहेको छ।

किकबक्सिङ मिश्रित यो फाइट सुस्मिताका लागि नयाँ अनुभव हुनेछ। उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार यस प्रतिस्पर्धाले सुस्मितालाई व्यवसायिक मुआथाइ यात्रामा अगाडि बढाउँदै थाइल्याण्डसम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

के-वान फाइट पारम्परिक किकबक्सिङभन्दा फरक हुने बताइएको छ। यसमा UFCमा प्रयोग हुने चार औंला खुला ग्लब्स प्रयोग गरिनेछ भने प्रतिस्पर्धा ५ मिनेटका ३ राउन्डमा हुनेछ। प्रशिक्षक क्षेत्रीले सुस्मिताले यस्तो ग्लब्स प्रयोग गरेर पहिलोपटक खेल्न लागेकाले यो उनको लागि चुनौतीपूर्ण र नयाँ अनुभव हुने बताए।

गण्डकी प्रदेशकी खेलाडी सुस्मिता व्यवसायिक खेलाडी बन्ने लक्ष्यसहित अघि बढिरहेकी छन्। प्रशिक्षकका अनुसार उनको दीर्घकालीन लक्ष्य थाइल्याण्डमा प्रतिस्पर्धा गर्नु हो।

उक्त च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सुस्मिता यसअघि पनि भारतमा आफ्नो खेल प्रदर्शन गरिसकेकी छन्। साथै चीन, जापान र मलेसियाबाट खेल्न निम्ता पाए पनि आर्थिक अभावका कारण सहभागी हुन नसकेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए।

सुस्मिताले श्रीलंका, भारत र नेपालमा मुआथाइ, तेक्वान्दोसहित विभिन्न फाइट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छन्। हालसम्म मुआथाइमा उनले कुनै पनि खेलमा हार व्यहोरेकी छैनन्। पर्याप्त आर्थिक सहयोग पाएमा उनले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्न सक्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: