एसईईपछि विद्यार्थीलाई डिजिटल सीप सिकाउँदै वडा नं. २६

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै डिजिटल प्रविधिमा आधारित विभिन्न तालिम सञ्चालन गरेको छ। बुधबारदेखि सुरु भएको तालिममा रोबोटिक्स एन्ड प्रोग्रामिङ, भिडियो तथा कन्टेन्ट क्रिएसन, ग्राफिक्स डिजाइन र व्यक्तित्व विकासका विषय समेटिएका छन्।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले एसईईपछि विद्यार्थीहरू खाली समयमा अन्यत्र अल्झिन सक्ने सम्भावना रहने भएकाले यस्ता तालिमले सही मार्गनिर्देशन गर्ने बताए। उनले प्रविधिको सही उपयोग गर्दै सिर्जनशील बन्न विद्यार्थीलाई आग्रह गरे।

उनका अनुसार वर्तमान समय सूचना र प्रविधिमा आधारित भएकाले डिजिटल प्लेटफर्मको सकारात्मक प्रयोगले क्षमता विकासमा सहयोग पुग्नेछ, नत्र गलत क्रियाकलापतर्फ पनि डोरिन सक्ने जोखिम रहनेछ। साथै उनले आगामी आर्थिक वर्षमा नैतिक तथा संस्कार शिक्षासम्बन्धी कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिए।

कार्यक्रममा वडा सदस्य सजता बरालले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि वडा कार्यालयले वार्षिक कार्यक्रममै समावेश गरी बजेट विनियोजन गर्दै आएको बताइन्।

त्यसैगरी, आकार समूहका सदस्य इन्जिनियर सन्दीप पौडेलले विज्ञान र प्रविधिमा आधारित तालिमले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रामा समेत सहयोग पुग्ने उल्लेख गरे।

तालिममा पोखराका विभिन्न विद्यालयबाट एसईई दिएका करिब १३० जना विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: