पोखरा महानगरपालिकाद्वारा भवन नियमित तथा अभिलेखीकरणका लागि अन्तिम अवसर प्रदान

Share:

पोखरा । पोखरा महानगरपालिकाले नक्सा पास नगरी वा आंशिक रूपमा मात्रै नक्सा पास गरी निर्माण गरिएका भवनहरूलाई वैधानिक दायरामा ल्याउन अन्तिम पटकका लागि विशेष अवसर प्रदान गरेको छ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ र ‘पोखरा महानगरपालिका भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२)’ बमोजिम सञ्चालित यस प्रक्रिया अन्तर्गत आगामी २०८३ आषाढ मसान्तसम्म भवन अभिलेखीकरण गरिसक्नुपर्ने समय सीमा तोकिएको छ।

भवन निर्माण सम्पन्न प्रमाणपत्र नभएका घर तथा जग्गाहरूको हकमा सम्पत्ति कर, मालपोत, विद्युत् तथा खानेपानी नामसारी जस्ता सिफारिस कार्यमा कानुनी जटिलता उत्पन्न हुने भएकाले महानगरले यो प्रक्रियालाई अनिवार्य बनाएको हो।

यसै सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न र प्रक्रियालाई सहज बनाउन महानगरले यही २०८३ वैशाख १२ गतेदेखि २१ गतेसम्म सबै वडा कार्यालयहरूमा सप्ताहव्यापी सचेतना अभियान सञ्चालन गर्दैछ। सो अवधिमा २,००० वर्ग फिटसम्म प्लिन्थ क्षेत्रफल भएका र तीन तलासम्मका भवन धनीहरूले आफ्नै वडा कार्यालयमा र सोभन्दा बढी क्षेत्रफल वा तला भएका भवन धनीहरूले महानगरको घर नक्सा तथा अभिलेखीकरण शाखामा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

तोकिएको समय सीमाभित्र आफ्ना संरचनाको अभिलेखीकरण गरी सरकारी सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भनी महानगरले सम्पूर्ण नगरवासीहरूमा सार्वजनिक सूचनामार्फत विशेष अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: