कास्की प्रहरीको ‘स्वीप अप्रेसन’: ६१ जना थप पक्राउ, अघिल्लो टोलीमाथि कारबाही तीव्र

Share:

पोखरा । कास्की जिल्लामा पछिल्लो समय बढ्दै गएको लागू औषध कारोबार, गुण्डागर्दी र सामाजिक अशान्ति नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो ‘स्वीप अप्रेसन’लाई तीव्र बनाएको छ।

यसै क्रममा प्रहरीले बिहीबार राति ९ बजेदेखि ११ गते बिहान ६ बजेसम्म पोखराका विभिन्न स्थानमा चलाएको खोजी अभियानमा थप ६१ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा लागू औषध बिक्री वितरण तथा सेवनमा संलग्न, समाजमा धम्की दिने ‘टोले गुण्डा’, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रात्रिकालीन समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिहरू रहेका छन्।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाहरूलाई केन्द्रित गरी यो अप्रेसन चलाइएको थियो। जसअन्तर्गत लेकसाइड र ड्यामसाइड क्षेत्रबाट सबैभन्दा बढी २४ जना पक्राउ परेका छन्। यस्तै, मोहरियाटोल र गैह्रापाटनबाट १४ जना, पृथ्वीचोक र सभागृह क्षेत्रबाट ८ जना, लेखनाथको सुन्दरीबजार, रिठ्ठेपानी र सैनिक बस्ती क्षेत्रबाट ९ जना तथा सराङकोट र रामबजार एरियाबाट ६ जना गरी कुल ६१ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यसैबीच, वैशाख १० गते पक्राउ परेका १२२ जनामाथि प्रहरीले कानुनी कारबाहीको प्रक्रिया पनि सार्वजनिक गरेको छ। जसमध्ये ८ जनालाई लागू औषध सम्बन्धी कसूरमा र २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य तथा सुरक्षा विरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको छ।

पक्राउ परेका अन्यमध्ये १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जरिवाना तिराएर र ७० जनालाई सम्झाई–बुझाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने २ जनालाई अझै होल्डमा राखिएको प्रहरीले जनाएको छ। समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि निरुत्साहित गर्न यो अप्रेसनलाई निरन्तरता दिइने कास्की प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: