
पोखरा। पोखराको सिमलचौर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणलाई डरत्रास फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरमा बसोबास गर्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थलाई नियन्त्रणमा लिएको हो।
तनहुँको व्यास नगरपालिका-२ स्थायी ठेगाना भएका उनीहरूले स्थानीयलाई हतियार देखाई त्रसित बनाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूको घरकोठामा खानतलासी गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान र खानतलासीका क्रममा उनीहरूको साथबाट नक्कली पेस्तोल बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई ‘टोले गुण्डा’को रूपमा चिनिएको र उनीहरूले नक्कली हतियारको आडमा समाजमा अशान्ति फैलाउने कार्य गरेको प्रहरीको दाबी छ।
पक्राउ परेका व्यक्तिहरू र बरामद सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
