
पोखरा । कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार र पर्या-पर्यटनको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पोखरा महानगरपालिका वडा नं. २० का विभिन्न क्षेत्रमा पुगेर नागरिकहरूसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् ।
सांसद पौडेलले पोखरा-२० अन्तर्गतका आटिघर, मौजा, मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे छलफल गरेका थिए ।
निरीक्षणका क्रममा सांसद पौडेलले पोखरा-२० र मादी जोड्ने पुलको आवश्यकता तथा लामडाँडा–मौजा–मोहोरिया–हिमालय मावि–मन्छाप–हाइ अल्टिच्युड खेल मैदान (तोङ्यो ढाप) हुँदै घगम थान मन्दिर जाने १९ किलोमिटर सडकको अवस्थाबारे स्थलगत जानकारी लिए ।
‘नागरिकको जीवन सहज बनाउन पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्दै उनले भने, यी आयोजनाहरूको निर्माण मेरो प्राथमिकतामा रहनेछ । विकासका कामहरू कुनै पनि तहमा कतै पनि अड्कन नदिने गरी म खट्नेछु ।’
सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या-पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन आफू लाग्ने प्रतिवद्धता जनाए ।
आफ्नो भूमिका नीति निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै उनले भने, ‘विकासका कामहरूमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नागरिकको साथमा रहेर सहकार्य गर्न म प्रतिबद्ध छु । तपाईँहरूको आशा र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ ।’
आफ्नो शक्ति नै जनताको साथ र सहयोग भएको बताउँदै उनले साझा सुन्दर भविष्य निर्माणको यात्रामा आफू निरन्तर नागरिकहरूसँगै रहने सङ्कल्प समेत व्यक्त गरे ।
