
पोखरा । पोखरा उद्योग वाणिज्य संघ को आयोजनामा आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगी-व्यवसायीको हितका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
समापन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै उनले व्यवसायीहरूले समयमै कर भुक्तानी गरेर राज्यको ढुकुटी बलियो बनाउन सहयोग गर्नु नागरिकको कर्तव्य भएको उल्लेख गरे। साथै, वडा ४ ले उद्योगी-व्यवसायी लक्षित कार्यक्रमहरू सञ्चालन गर्न संघसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए।
वडाध्यक्ष पराजुलीले हाल वडा स्तरमा सप्ताहव्यापी कर संकलन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै व्यवसायीहरूलाई आफ्नो कारोबारको व्यवस्थित अभिलेख राख्न आग्रह गरे।
कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्की ले उद्योग-व्यवसायको विकाससँगै मात्र राजश्व वृद्धि र रोजगारी सिर्जना सम्भव हुने बताए। उनले वर्तमान अवस्थामा व्यवसायीहरूको मनोबल उच्च बनाउन आवश्यक रहेको धारणा राखे। नयाँ सरकारका सुशासनका प्रयासप्रति निजी क्षेत्र सकारात्मक भए पनि व्यवसायीको पहिचान र सम्मानमा आँच आउने किसिमका कदमप्रति असहमति रहने उनले स्पष्ट पारे।
संघकी महासचिव तथा तालिम संयोजक शोभा गौतम को सञ्चालनमा सम्पन्न तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठ ले करका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए। महासचिव गौतमका अनुसार आगामी बुधबार पनि यस्तै प्रकृतिको तालिम आयोजना गरिनेछ।
