
पोखरा । पृथ्वीचोक स्थित बसपार्क निर्माणका लागि २०३२ सालमा अधिग्रहण गरिएको जग्गा व्यापक अतिक्रमणका कारण खुम्चिँदै जाँदा ५० वर्ष बितिसक्दा पनि बसपार्क निर्माण अलपत्र परेको छ। प्रारम्भमा २०७ रोपनी अधिग्रहण गरिएको जग्गा हाल घटेर करिब ५० रोपनीमा सीमित भएको छ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त बहुमूल्य सरकारी जग्गामा करिब ४ सय सुकुमबासी परिवारसहित विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन, संघ-संस्था र व्यवसायिक समूहले अतिक्रमण गर्दै आएका छन्।
बसपार्क र यातायात व्यवस्था कार्यालय पोखरा अगाडिको क्षेत्रमै ९ वटा संघ-संस्थाले स्थायी संरचना बनाएर कार्यालय सञ्चालनदेखि व्यापारिक सटर भाडामा लगाउनेसम्मका गतिविधि गरिरहेका छन्।
अतिक्रमण गर्नेहरूमा अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लगायत छन्।
यस्तै पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत सञ्चालित सामुदायिक सिकाइ केन्द्र, हिमाली सांस्कृतिक परिवार र सहारा क्लब पोखरा लगायत संस्थाले पनि सार्वजनिक जग्गा प्रयोग गरिरहेका छन्।
नगर विकास समितिको पछिल्लो नापजाँचले यी अधिकांश संरचना सडक क्षेत्रमै परेको देखाएपछि समिति सक्रिय भएको छ। समितिले ३५ दिने सूचना जारी गर्दै अनुमतिविना निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन आग्रह गरेको छ।
समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका का मेयर धनराज आचार्यले तोकिएको समयभित्र अतिक्रमण हटाउन चेतावनी दिँदै अन्यथा कानुनी कारबाही गरिने स्पष्ट पारे।
“अब अतिक्रमित संरचना हट्छन्, कुनै पनि हालतमा जोगिँदैनन्,” उनले भने।
पोखराको सिटी प्लानिङ अन्तर्गत २०३१ सालमा तयार गरिएको बृहत् गुरुयोजनाअनुसार बसपार्कसहितका पूर्वाधार विकासको परिकल्पना गरिएको थियो। तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाविद् पदमबहादुर क्षेत्री को पहलमा जग्गा अधिग्रहण सुरु भएको थियो।
हाल पोखरा उपत्यका नगर विकास समिति सँग करिब ९९५ रोपनी जग्गा रहे पनि अतिक्रमण र अव्यवस्थित प्रयोगका कारण सार्वजनिक सम्पत्ति निरन्तर खुम्चिँदै गएको छ।
बसपार्क निर्माणको विषय हरेक निर्वाचनमा एजेन्डा बन्दै आए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा स्थानीयवासीमा निराशा बढ्दो छ।
