ज्येष्ठ नागरिकका हकहितका लागि मन्त्रीसमक्ष ध्यानाकर्षण

Share:

पोखरा । ज्येष्ठ नागरिक सञ्जाल नेपालले गण्डकी प्रदेश सरकारलाई ज्येष्ठ नागरिकका समस्या समाधान गर्न माग गर्दै सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ समक्ष ध्यानाकर्षणपत्र पेश गरेको छ।

सञ्जालका अध्यक्ष कुसुम केशव पराजुलीले मन्त्री गुरुङलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै लामो समयदेखि नागरिकता, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित ज्येष्ठ नागरिकलाई तत्काल सेवा उपलब्ध गराउन आग्रह गरे।

ज्ञापनपत्रमा असहाय, बेवारिसे, अशक्त तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि राज्यले विशेष जिम्मेवारी लिनुपर्ने उल्लेख छ। साथै, जेरियाट्रिक स्वास्थ्य सेवा, मनोपरामर्श, थेरापी तथा अल्जाइमर र डिमेन्सियाजस्ता रोगको पहिचान र उपचारका लागि जिल्लास्तरमा कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

सञ्जालले ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरूमा हुने अनियमितता र व्यापारिकरण रोक्न, सेवा प्रभावकारी बनाउन तथा स्वयमसेवकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गर्न र उनीहरूलाई उत्पादनमूलक कार्यमा संलग्न गराउनुपर्ने माग पनि राखिएको छ।

मन्त्री गुरुङले उठाइएका मागहरू प्रति सकारात्मक रहेको बताउँदै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: