
पोखरा । पोखरा महानगरपालिका ले नक्सा पास नगरी निर्माण भइसकेका घर तथा भवनलाई कानुनी दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम १०२ अनुसार “भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२)” बमोजिम यस्तो सेवा अघि बढाइएको हो।
महानगरपालिकाले वैशाख १२ गतेदेखि २१ गतेसम्मका लागि विशेष सेवा दिँदै आएको छ। २००० वर्ग फिटसम्म र तीन तलासम्मका घरहरूको काम सम्बन्धित वडा कार्यालयबाट भइरहेको छ भने सोभन्दा ठूला तथा बढी तल्ला भएका भवनहरूको नक्सा पास, अभिलेखीकरण र सम्पन्न प्रमाणपत्र सेवा महानगरको घर नक्सा तथा अभिलेखीकरण शाखाबाट प्रदान भइरहेको छ।
यसैबीच, भवन नियमित अभिलेखीकरण प्रक्रियालाई सहज बनाउन गठित समितिले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएका घर तथा भवनले कानुनी रूपमा विभिन्न समस्या भोग्नुपर्ने स्पष्ट पारे।
उनका अनुसार अभिलेखीकरण नभएको अवस्थामा सम्पत्ति कर, मालपोत तथा भूमिकर तिर्न, घरजग्गा नामसारी गर्न वा बेचबिखन गर्न समेत कानुनी अड्चन आउन सक्छ। त्यसैले महानगरले सञ्चालन गरेको यस अभियानमा सक्रिय रूपमा सहभागी हुन नगरवासीलाई आग्रह गरिएको छ।
छलफल कार्यक्रम समिति संयोजक तथा वडा नं। २६ का अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
