
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बाबुको हत्या गरी फरार रहेका अभियुक्त र बालिकाको सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले छुट्टाछुट्टै दुई घटनाका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको हो।
कास्कीको रुपा गाउँपालिका वडा नं. ४ बागेडाँडामा ६२ वर्षीय राम बहादुर घर्तीको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले उनकै कान्छो छोरालाई पक्राउ गरेको छ। २०८३ वैशाख १७ गते बेलुका घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा उद्धार गरी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको स्थिति र मृतकको शरीरको चोट पटक हेर्दा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले खोजतलास सुरु गरेको थियो। सोही क्रममा मृतकका ३४ वर्षीय छोरा भिम बहादुर भुजेललाई १८ गते पोखराको हस्पिटल चोकबाट पक्राउ गरिएको हो।
उनलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूर (दफा १७७) अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
बालिकाहरुलाई प्रलोभनमा पारी कानको मुन्द्रा चोरी गर्ने कार्यमा संलग्न एक महिलालाई कास्की प्रहरीले पुनः पक्राउ गरेको छ। वैशाख ६ गते पोखरा-२५ हेम्जाकी ६ वर्षीया बालिकालाई “तिमीलाई खानेकुरा दिन्छु र म तिम्रो मम्मीको साथी हुँ” भनी ललाईफकाई गरी बालिकाले लगाएको २ थान सुनको मुन्द्रा (मूल्य करिब १ लाख रुपैयाँ) चोरी भएको उजुरी परेको थियो।
प्रहरीले सीसीटीभी फुटेज र स्कुटर भाडामा दिने पसलको रेकर्डका आधारमा खोजतलास गर्दा स्याङ्जा चापाकोट घर भई पोखरा-१० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगरलाई पक्राउ गरेको हो। उनले एउटा रेन्टल सपबाट स्कुटर भाडामा लिएर चोरीका लागि प्रयोग गर्ने गरेको खुलेको छ।
यसैगरी, अम्बिका पुलामी मगरको आपराधिक पृष्ठभूमि निकै लामो देखिएको छ। प्रहरीको CRS (Criminal Record System) चेक गर्दा उनी यसअघि नै कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी १८ वटा फरक–फरक मुद्दामा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादी रहेको खुलेको छ।
अदालतले उनलाई वि.सं. २०७९ सालमा विभिन्न मुद्दामा ६ महिनादेखि २ वर्षसम्मको कैद र २० हजार रुपैयाँसम्मको जरिवाना सुनाएको थियो। पुराना १८ वटा फैसलाको लगत बाँकी छँदै उनी पुनः सोही प्रकृतिको चोरी कार्यमा संलग्न भएको पाइएको छ।
हाल उनलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
