
पोखरा । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर पोखरा महानगरपालिकाले श्रम, सीप र आत्मनिर्भरतालाई सम्मान गर्दै १२ जना उत्कृष्ट व्यक्तित्वलाई विशेष सम्मान गरेको छ। निरन्तर मेहनतमा आबद्ध श्रमिक, स्वरोजगार उद्यमी तथा सीपमूलक तालिमपछि रोजगारीमा सफल भएका व्यक्तिहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत आयोजना गरिएको कार्यक्रममा स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र शर्मा सम्मानित भए भने रोजगारीतर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जु लामिछाने पुरस्कृत भए। त्यस्तै, मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुप्रसाद पौडेल र बालकुमार खवासले सम्मान प्राप्त गरे।
सम्मानितमध्ये छ जनाले एउटै संस्थामा १० वर्षभन्दा बढी समय सेवा दिएका थिए भने बाँकीमध्ये तीन जना महानगरको तालिमपछि रोजगारीमा आबद्ध भएका र अन्य तीन जना स्वरोजगार बनेर अरूलाई समेत रोजगारी सिर्जना गर्न सफल भएका छन्। उनीहरूलाई जनही रु. ५,१०० नगद, खादा-माला र सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा २०० जना प्रशिक्षार्थीलाई सीपमूलक तालिम पूरा गरेबापत प्रमाणपत्र पनि वितरण गरिएको थियो, जसले सीप विकास र रोजगार अभिवृद्धिमा महानगरको सक्रियता झल्काएको छ। महानगर प्रमुख धनराज आचार्यले सीपमूलक तालिमले व्यक्तिको व्यवहारिक ज्ञान र दक्षता अभिवृद्धि गर्दै रोजगारीका ढोका खोल्ने बताए। “जब व्यक्ति आफ्नै सीपको आधारमा आय आर्जन गर्न सक्षम हुन्छ, समाजले उसलाई सम्मानका साथ हेर्छ,” उनले भने, “यसले आत्मसम्मान बढाउनुका साथै सामाजिक जिम्मेवारीबोध पनि विकास गर्छ।”
वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए। आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न तालिम केन्द्र र व्यवसायिक प्रतिष्ठानसँगको सहकार्यमा नागरिकलाई आयआर्जन र जीविकोपार्जनमा जोड्ने प्रयास निरन्तर जारी रहने बताए।
कार्यक्रममा सहभागीहरूले महानगरद्वारा प्रदान गरिएको तालिमले जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाउँदै यस्तो पहलको प्रशंसा गरेका थिए।
