पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित

Share:

पोखरा । प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठित पालिखे स्मृति पत्रकारिता सम्मान यस वर्ष दुई अनुभवी पत्रकारलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा पत्रकार सूर्यचन्द्र बस्नेत (२०८१) र कृष्णमणि बराल (२०८२) लाई जनही रु. १ लाख १ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सम्मान हस्तान्तरण गर्दै लोकतान्त्रिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले दबाब र अभावका बीच पनि नेपाली पत्रकारहरूले देखाएको प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गर्दै पत्रकारिताको मर्यादा, नैतिकता र जिम्मेवारीलाई अझ सुदृढ बनाउन आग्रह गरे।

सम्मानितमध्ये सूर्यचन्द्र बस्नेत लामो समय पोखरामा सक्रिय पत्रकारिता गरेपछि हाल राष्ट्रिय समाचार समिति (रासस) काठमाडौंमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्। त्यस्तै, कृष्णमणि बराल हाल BBC नेपाली सेवा, अन्नपूर्ण पोस्ट र इनेचर न्यूजजस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता केवल पेशा नभई समाजप्रति उत्तरदायित्व बोकेको सेवा भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र निष्पक्ष समाचार सम्प्रेषणको महत्वमा जोड दिएका थिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्षले सरकारी विज्ञापन वितरणमा देखिएको असमानताविरुद्ध आन्दोलन जारी रहेको जानकारी गराउँदै प्रेस स्वतन्त्रता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताए।

सम्मानित पत्रकारद्वयले यस्तो सम्मानले आफूहरूलाई अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: