विश्व बजारमा फैलिँदै नेपाली सिनेमा

Share:

पोखरा । नेपाली सिनेमा विस्तारै विश्व बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै गएको निष्कर्ष चलचित्र पत्रकार संघ नेपाल कास्कीद्वारा आयोजित ‘सिनेमा संवाद’को चौथो संस्करणमा निकालिएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित पर्यटकीय गाउँ ल्वाबमा शनिबार आयोजित पहिलो सेसन ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल तथा लेखक, निर्देशक एवं निर्माता सामिप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी विमला थापाले संवाद गरेकी थिइन्।

संवादका क्रममा नेपाली फिल्म उद्योग अब विश्व बजारमा प्रवेश गरिसकेको र आगामी चुनौती प्रभाव विस्तारको रहेको धारणा राखियो। चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, “ग्लोबल मार्केटमा हामी छिरिसक्यौं, अब कति हल्ला मच्चाउने भन्ने बाँकी छ।”

उनले निर्देशक मीन भामको फिल्म ‘शाम्बाला’ले बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बनाएको इतिहासलाई नेपाली सिनेमाको ठूलो उपलब्धिका रूपमा उल्लेख गरे। कान्स फिल्म फेस्टिभलसम्म नेपाली सिनेमाको उपस्थिति पुग्नुले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मप्रतिको चासो बढेको उनको भनाइ थियो।

तिमिल्सिनाका अनुसार नेपाली फिल्मले विदेशी बजारमा उल्लेखनीय व्यापारसमेत गर्न थालेका छन्। “‘उनको स्वीटर’ले अष्ट्रेलिया, न्यूजिल्याण्ड र यूएईबाट मात्रै ६ करोड रुपैयाँको व्यापार गरेको छ,” उनले बताए। त्यस्तै ‘जेरी एण्ड टप’ले अष्ट्रेलियाबाट मात्रै साढे ३ करोड रुपैयाँ कमाएको र भारतीय बजारबाट समेत करोडौंको व्यापार भएको जानकारी दिए।

अभिनेत्री बेनिशा हमालले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुँदा विश्व सिनेमालाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाइन्। ‘कालोपोथी’ फिल्मका कारण टोकियो र सिंगापुर फिल्म फेस्टिभल पुगेको स्मरण गर्दै उनले भनिन्,

“त्यहाँ पुगेपछि विश्व सिनेमा कस्तो हुन्छ भन्ने बुझ्ने मौका मिल्यो। धेरै कुरा सिक्न पाइयो।” संवादमा बलियो कथा भए नेपाली फिल्मले आर्थिक अभावका कारण पछि हट्नुपर्ने अवस्था नरहेको निष्कर्ष पनि निकालियो।

“अहिले राम्रो कथा छ भने लगानी गर्न दुनियाँ तयार छ,” तिमिल्सिनाले भने। उनले आफ्नो निर्माणाधीन फिल्म ‘एकमुठ्ठी बादल’को पोस्ट-प्रोडक्सन कार्य थाइल्याण्ड र भारतमा भइरहेको जानकारी दिँदै नेपाली फिल्मको प्राविधिक स्तर पनि अन्तर्राष्ट्रियस्तरमा उक्लँदै गएको बताए।

कार्यक्रममा नेपाली फिल्म अहिले प्रयोगात्मक चरणमा रहेको र फरक शैलीका कथावस्तुमा काम भइरहेको चर्चा गरियो। “रोनाधोना मात्र होइन, अहिले नेपाली फिल्ममा नयाँ प्रयोग भइरहेको छ,” तिमिल्सिनाले बताए।

अभिनेत्री हमालले पनि नेपाली समाजमा कथाको कमी नरहेको बताउँदै नेपाली फिल्मलाई नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पुर्‍याउन राज्य र सम्बन्धित निकायले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याइन्।

सिनेमा संवादमा सहभागी वक्ताहरूले नेपाली फिल्मको अन्तर्राष्ट्रिय यात्रा उत्साहजनक रहेको उल्लेख गर्दै अब गुणस्तरीय सामग्री, प्रविधि र विश्व बजारसँगको पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: