“स्टेरियोटाइप तोड्दै नयाँ सोचको सिनेमा बनाउनुपर्छ”

Share:

पोखरा । नेपाली सिनेमा क्षेत्रमा पुराना पुस्ताले नयाँ पुस्ताका लागि सिर्जनात्मक, फरक र प्रयोगात्मक विषय छाडेर जानुपर्नेमा ‘सिनेमा संवाद’मा जोड दिइएको छ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका-८ स्थित पर्यटकीय गाउँ ल्वाबमा शनिबार आयोजित दोस्रो सेसन ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयक संवादमा कलाकारहरूले नेपाली फिल्मको बदलिँदो स्वरूप, नयाँ पुस्ताको सोच र दर्शकको अपेक्षाबारे खुला बहस गरेका हुन्।

सेसनमा नायिकाद्वय आचल शर्मा, सनिशा भट्टराई तथा नायक सलोन बस्नेतसँग सञ्चारकर्मी उत्सव रसाइलीले संवाद गरेका थिए। अभिनेत्री आचल शर्माले अब आउने पुस्तालाई परम्परागत ढर्राभन्दा फरक र सिर्जनात्मक विषयवस्तु हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

“हामी अहिले नयाँ पुस्ता हौं, भोलि पुरानो पुस्ता बन्छौं। त्यसैले अब आउने जेनेरेशनका लागि क्रियटिभ र डिफरेन्ट काम छाडेर जानुपर्छ,” उनले भनिन्।

उनले नेपाली सिनेमामा लामो समयदेखि दोहोरिँदै आएको ‘स्टेरियोटाइप स्टोरी’ अहिलेको पुस्ताले तोड्न थालेको दाबी गरिन्।

“पहिले एउटै शैलीको कथा दोहोरिन्थ्यो, अहिले त्यो चेन ब्रेक भइरहेको छ। अर्को पुस्ताले अझै फरक ढंगले सोच्नुपर्छ,” उनले थपिन्।

नायक सलोन बस्नेतले पनि नेपाली सिनेमाको परम्परागत ढाँचालाई चुनौती दिन आफू ‘युनिभर्सिटी अफ गुन्डाज’जस्ता फरक विषयका फिल्म निर्माणमा लागेको बताए।

“यो चेन कसैले तोडेन भने आफैंबाट सुरु गर्नुपर्छ भनेर मैले प्रयास गरिरहेको छु,” उनले भने। अभिनेत्री सनिशा भट्टराईले महिला केन्द्रित कथावस्तुलाई अझ बढी प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

“फिमेल लिड भएको फिल्म चल्दैन भन्ने सोच गलत हो। राम्रो कथा कहिल्यै जेंडरमा सीमित हुँदैन,” उनले भनिन्। उनले नयाँ पुस्ताले भविष्यका कलाकारका लागि प्रेरणा बन्ने खालका सिनेमा बनाउनुपर्नेमा जोड दिइन्।

संवादमा पुरानो पुस्ताको अनुशासन, धैर्यता र मेहनतले नै नेपाली चलचित्र उद्योग आजको अवस्थामा आइपुगेको निष्कर्ष पनि निकालियो। आचल शर्माले आफूहरू पुरानो पुस्ताको संघर्षबाट प्रेरित भएको बताइन्।

“उहाँहरूको मेहनत, अनुशासन र धैर्यताले नै हामीलाई यहाँसम्म ल्याएको हो,” उनले भनिन्। नायक सलोन बस्नेतले एनालग युगदेखि डिजिटल समयसम्म नेपाली सिनेमामा ठूलो परिवर्तन आएको अनुभव सुनाए। चलचित्र परिवारमा हुर्किएका उनले अहिले फिल्म निर्माणमा नयाँ पुस्ताले विभिन्न चुनौती झेल्नुपरेको बताए।

“सिनेमामा राजनीति पनि हुने रहेछ भन्ने थाहा पाएँ। तर यसको दोष पुस्तालाई होइन, सिस्टमलाई दिनुपर्छ,” उनले स्पष्ट पारे।उनले नेपाली फिल्म प्रदर्शन प्रणालीमा समेत सुधार आवश्यक रहेको औँल्याउँदै पहिलेझैँ निश्चित शो टाइम नहुनु उद्योगकै कमजोरी भएको टिप्पणी गरे।

वक्ताहरूले कलाकार मात्र होइन, दर्शक पनि नयाँ पुस्तामा रूपान्तरण भइरहेकाले उनीहरूको रुचि, सोच र मागअनुसार सिनेमा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। ‘सिनेमा संवाद’मा नेपाली सिनेमाको वर्तमान अवस्था, चुनौती, प्रयोगात्मक प्रयास र नयाँ पुस्ताको भूमिकाबारे गहन छलफल भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: