नासा नेपालको ‘युथ लिडरसिप प्रोग्राम’ दोस्रो सत्र सम्पन्न

Share:

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा नेपाल) ले सञ्चालन गरेको ‘युथ लिडरसिप प्रोग्राम २०२६/२७’ अन्तर्गत दोस्रो सत्र शुक्रबार धोबीघाटस्थित सिद्धार्थ कटेज रेष्टुरेन्टमा सम्पन्न भएको छ ।

इभेन्ट म्यानेजमेन्ट एण्ड ब्रान्डिङ, सोसल मिडिया एण्ड कम्युनिकेशन तथा मार्केटिङ एण्ड कर्पोरेट कोलाबोरेशन विषयमा केन्द्रित कार्यक्रममा इन्जिनियरिङ, आईटी, पर्यटन, मोटरसाइकलिङलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ जना युवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल तथा इरास्मस सर्टिफाइड ट्रेनर डा. अविनाश श्रेष्ठले “टिम निर्माण तथा सम्भावना पहिचान” विषयमा प्रशिक्षण दिएका थिए । उनले नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि, साझेदारी तथा प्रभावकारी टिमवर्कबारे अन्तरक्रियात्मक प्रस्तुति दिँदै चुनौतीसँग प्रतिस्पर्धा गर्दै निरन्तरता र सहकार्यबाट सफलता हासिल गर्न सकिने बताए ।

त्यसैगरी ब्याडमिन्टन एसिया सर्टिफाइड अम्पायर तथा माइस इन्टरनेशनल सर्भिस प्रालिका अध्यक्ष दीपक थापाले खेलकुद तथा इभेन्ट व्यवस्थापन, स्पोन्सरशिप, मार्केटिङ, स्वयंसेवक परिचालन, लजिस्टिक्स र जोखिम व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । खेल पत्रकार तथा खेलपाटी डटकमका प्रमुख सम्पादक राजु घिसिङले खेलकुद तथा युवा कार्यक्रमको ब्रान्डिङ, कम्युनिकेशन रणनीति, मेनस्ट्रिम तथा डिजिटल मिडियाको प्रयोग र प्रभावकारी सोसल मिडिया व्यवस्थापनबारे प्रस्तुति दिएका थिए ।

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) को सहयोगमा सञ्चालित कार्यक्रमकी संयोजक कमला छेत्रीले सहभागीहरूलाई स्वागत गर्दै गत चैत २८ गते सम्पन्न पहिलो सत्रको संक्षिप्त समीक्षा प्रस्तुत गरेकी थिइन् । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई तथा एडमिन एण्ड मोबिलिटी म्यानेजर किरण धितालले कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी युवाहरूले इभेन्ट व्यवस्थापन, ब्रान्डिङ, कम्युनिकेशन तथा कर्पोरेट कोलाबोरेशनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको आयोजकले जनाएको छ । नासा नेपालले यस कार्यक्रममार्फत मोटरस्पोर्ट्स, सुरक्षित मोबिलिटी, पर्यटन तथा दीर्घकालीन युवा नेतृत्व विकासका क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने लक्ष्य राखेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: