राष्ट्रपति पौडेलले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Share:

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए।

राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रमसमेत संसद्मा प्रस्तुत गर्नेछन्। नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ।

बैठकमा अपराह्न ३:४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची तय गरिएको छ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ।

आज दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन्।

साथै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नुहुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची छ ।

साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नुहुने कार्यसूची पनि रहेको छ। राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: