
पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) मा कार्यरत एक रेजिडेन्ट चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ। कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षमा अध्ययनरत डा. अमिर उप्रेतीको पोखराको बुलौंदीस्थित एक रिसोर्टको पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार वैशाख २६ गते साथीहरूसँगै पौडी खेल्न गएका उप्रेती पोखरीमा डुबेका थिए।
उनी डुबेको देखेपछि सँगै रहेका साथीहरूले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिए। मृतकको शव पोस्टमार्टमपश्चात् अन्तिम संस्कारका लागि परिवारलाई बुझाइसकिएको छ।
यसैबीच, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्राचार्य प्राडा रबीन्द्रप्रसाद श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै डा. उप्रेतीको असामयिक निधनले कलेज परिवार स्तब्ध भएको बताए। उनले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै डा. गरिमा लगायत शोकाकुल सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
