पोखरामा स्वीप अप्रेसन : मापसे, लागूऔषध र जुवाजन्य गतिविधिमा संलग्न २३ जना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने, झै-झगडा गर्ने र जुवाजन्य गतिविधिमा संलग्न २३ जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी हरि बहादुर वस्नेतका अनुसार सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म ‘स्वीप अप्रेसन’ सञ्चालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पोखराका बगर, टुँडिखेल, बाग्लुङ बसपार्क, नदिपुर, तेर्सापट्टी, पर्स्याङ, हरिचोक, बाटुलेचौर, सराङकोट र लामाचौर क्षेत्रमा निगरानी बढाएर अप्रेसन चलाइएको डिएसपी बस्नेतले जानकारी दिए।

अप्रेसनका क्रममा वडा नम्बर १, २, ३ र ४ क्षेत्रबाट ७ जना, वडा नम्बर ५ को पर्स्याङ र हरिचोकबाट ५ जना तथा वडा नम्बर १६, १८ र १९ क्षेत्रबाट ११ जनालाई नियन्त्रणमा लिइएको उनले जनाए।

पक्राउ परेकामध्ये केही व्यक्तिहरु मादक पदार्थ तथा लागूऔषध (गाँजा) सेवन गरी होहल्ला गर्ने, झै-झगडा गर्ने तथा जुवाजन्य ‘तिन गोट्टी’ खेलाउने गतिविधिमा संलग्न रहेका थिए।

डिएसपी बस्नेतका अनुसार ३ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ।

त्यस्तै, मापसे तथा लापसे गरी होहल्ला र झै-झगडा गर्ने ७ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। मापसे गरेर हिँडिरहेका ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाँ जरिवाना गरी छाडिएको छ र ६ जनालाई आफन्तको जिम्मा लगाएर तारेखमा रिहा गरिएको डिएसपी बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्
Share: