पोखरा स्पोट्र्स अवार्डमा उदीयमान खेलाडीको प्रतिस्पर्धा : अनुस्का, सचिन र निभा मनोनयनमा

Share:

पोखरा । पोखराले नेपाली खेल इतिहासमा धेरै नामी खेलाडी जन्माएको छ । अहिले खेल मैदानमा नयाँ पुस्ताको बाक्लो उपस्थिति देखिन्छ । यिनैमध्ये ३ प्रतिभावान खेलाडी पोखरा स्पोट्र्स अवार्डको १० औं संस्करणमा मनोनयन भएका छन् । ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) विधामा अनुस्का अधिकारी, सचिन सुनार र निभा राईबीच प्रतिस्पर्धा हुनेछ । यिनीहरूलाई नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएको छ ।

अनुस्का अधिकारी (एथलेटिक्स)

१६ वर्षीया अनुस्का अधिकारी एथलेटिक्सकी प्रतिभावान धाविका हुन् । उनको पुख्र्यौली घर लमजुङ हो । उनी अहिले पोखराको सगरमाथा सेकेन्डरी स्कुलमा ११ कक्षामा पढ्छिन् । अनुस्काले ८ कक्षामा पढ्दादेखि नै ट्रयाकमा दौडिन थालेकी हुन् । कृष्णबहादुर थापाले उनलाई खेलमा लाग्न हौसला दिए । अहिले उनी रंगशालामा प्रशिक्षक सिद्धान्त अधिकारीसँग प्रशिक्षण लिन्छिन् । उनको सफलतामा प्रशिक्षकको मार्गदर्शन र परिवारको पूर्ण सहयोग रहेको उनले बताइन् ।

अनुस्काले विसं २०८३ मा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा २०० मिटर दौडमा स्वर्ण पदक जितिन् । प्रदेश तहको प्रतियोगितामा उनले ३ वटा स्वर्ण चुमिन् । केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा उनले १ रजत र ३ कास्य हात पारिन् । उनले १६ औं महानगर र जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा पनि ५ स्वर्ण पदक जितिन् । यस्तै चौथो यु–२० एथलेटिक्स च्याम्पियनसिपमा उनले २ स्वर्ण पदक प्राप्त गरिन् ।

सचिन सुनार (तेक्वान्दो)

तेक्वान्दोका सचिन सुनार १७ वर्ष पुग्न लागेका छन् । उनको पुख्र्यौली घर सिन्धुली भए पनि पोखरामा हुर्किए । उनी अहिले ११ कक्षामा पढ्ने तयारीमा छन् । सचिनले विसं २०७५ देखि तेक्वान्दो खेल्न थालेका हुन् । उनले प्रशिक्षक रेखामाया गुरुङसँग एब्सोल्युट तेक्वान्दो डोजाङमा खेल सिके । सचिन अहिले ब्ल्याक बेल्ट ‘डान २’ को तहमा छन् । उनले ४ वर्षअघि नै ब्ल्याक बेल्ट प्राप्त गरेका हुन् । उनी पहिलोपटक अवार्डको मनोनयनमा पर्दा निकै उत्साहित छन् ।

सचिनले विसं २०८२ मा सम्पन्न १३ औं कोरियन एम्बास्डर अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जिते । उनले कुक्कीवान कप र प्रदेशस्तरीय च्याम्पियनसिपमा पनि स्वर्ण पदक हात पारे । १५ औं राष्ट्रपति रनिङ सिल्डमा उनले रजत पदक जिते । प्रदेश तहमा भने स्वर्ण नै प्राप्त गरे । दोस्रो एभरेस्ट अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा पनि उनले स्वर्ण र कास्य पदक हात पारे । यस्तै १६ औं राष्ट्रपति रनिङ सिल्डमा उनले स्वर्ण पदक जितेका छन् ।

निभा राई (ब्याडमिन्टन)

१५ वर्षीया निभा राई ब्याडमिन्टनकी आशालाग्दो खेलाडी हुन् । उनले १० वर्षकै उमेरदेखि ¥याकेट समातेकी हुन् । निभा अहिले मैत्री पाठशालामा १० कक्षामा पढ्छिन् । उनलाई बुबा नरहरि राईले खेलमा लाग्न प्रेरित गरे । प्रशिक्षक पुनम गुरुङले उनको क्षमता पहिचान गरी निखारेकी हुन् । निभाले यु–११, यु–१३ र यु–१४ को राष्ट्रिय च्याम्पियनको उपाधि जितिसकेकी छिन् । उनी अहिले यु–१५ उमेर समूहकी नेपाल च्याम्पियन हुन् । उनी यु–१९ मा पनि देशकै उत्कृष्ट ५ खेलाडीभित्र पर्छिन् ।

निभाले भुटान र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । उनले विसं २०८२ मा चौथो मोहन मेमोरियल र टोहखा नगरपालिका कपमा स्वर्ण र कास्य पदक जितिन् । ट्यालेन्ट हन्ट च्याप्टर २ मा पनि उनले सोही पदक दोहो¥याइन् । उनले २१ औं इन्द्रबहादुर गुरुङ मेमोरियलमा स्वर्ण र ललितपुर मेयर कपमा रजत पदक हात पारिन् । पाँचौं मोहन मेमोरियलमा उनले २ रजत पदक जितेकी छिन् । उनी दक्षिण एसियाली जुनियर च्याम्पियनसिपका लागि पनि छनोट भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: