
पोखरा। जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध व्यापक कारबाही गर्दै ४४ लाख ८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार उक्त अवधिमा ५ हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। ट्राफिक नियम मिचेर सञ्चालन भएका सवारीसाधनलाई लक्षित गर्दै नियमित निगरानी र जाँच अभियान तीव्र बनाइएको उनले बताए।
यसैबीच, वैशाख महिनामा कास्की जिल्लाभर २२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन्। कार्यालयका अनुसार अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ।
मात्रै वैशाखमा १२ दुर्घटना तीव्र गतिका कारण भएका थिए। त्यसैगरी, चालक अनुमतिपत्रबिना चलाइएका पाँच तथा मादक पदार्थ सेवन गरेर चलाइएका तीन सवारीसाधन दुर्घटनामा परेको तथ्यांक सार्वजनिक गरिएको छ।
‘मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा हुइँकिने चालकलाई लक्षित गरेर ट्राफिक जाँच थप कडाइ गरिएको छ,’ प्रहरी निरीक्षक देवकोटाले भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा विशेष जाँच अभियान सञ्चालन गरिरहेका छन्।’
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुर्घटना न्यूनीकरणका लागि केवल कारबाही मात्रै होइन, ट्राफिक जाँचका क्रममा प्रहरीले नागरिकसँग गर्नुपर्ने व्यवहार, सुरक्षाका मापदण्ड र नमुना जाँच अभ्याससम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
ट्राफिक कार्यालयले बढ्दो दुर्घटना नियन्त्रणका लागि नागरिकलाई नियम पालना गर्न, मादक पदार्थ सेवनपछि सवारी नचलाउन तथा सुरक्षित गति अपनाउन आग्रह गरेको छ।
