पोखरा ३२ मा बन्यो सुकुम्बासी व्यवस्थापन सहजीकरण समिति

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि वडास्तरीय सहजीकरण समिति र संघर्ष समिति गठन गरिएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति कास्कीद्वारा खुदीखोलामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो समितिको घोषणा गरिएको हो। कार्यक्रममा स्थानीय सुकुम्बासीहरूसँग उनीहरूको समस्या र सरकारी नीतिका विषयमा गहन छलफल भएको थियो।

कार्यक्रममा बोल्दै पोखरा ३२ का वडाअध्यक्ष अक्कल बहादुर कार्कीले बिना कारण र बिना विकल्प कसैलाई पनि बसिरहेको ठाउँबाट नहटाइने स्पष्ट पारे। उनले स्थानीय सरकार हचुवाको भरमा डोजर लिएर बस्ती/बस्ती चाहर्ने पक्षमा नरहेको दाबी गरे।

“कोही पनि त्रसित हुनुपर्दैन, ढुक्क भएर आफ्नो दैनिक कामकाज गर्नुस्,” वडाअध्यक्ष कार्कीले भने।

पछिल्लो समय देशका विभिन्न ठाउँमा चलेको डोजर आतंकका कारण दैनिक मजदुरी गरेर खाने वर्ग त्रसित बनेको र राती निद्रा समेत पर्न छाडेको भन्दै स्थानीय सुकुम्बासीहरूले चिन्ता व्यक्त गरेका थिए।

चुनावी समयमा भोट दिएर ठूलो भूल गरेको भन्दै कतिपय सहभागीले आक्रोश समेत पोखेका थिए।

अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव ओम बहादुर पौडेलले भूमिहीनहरू शहरका मौरी जस्तै भएको टिप्पणी गरे।

“मौरी भएन भने घारको कुनै अर्थ हुँदैन,” पौडेलले भने, “शहर बनाउने रहर हुनेहरूले सुकुम्बासीका पुराना र थोत्रा लुगा तथा अनुहार मात्र नहेरून्, तिनै श्रमजीवीका कारण शहर सुन्दर र सुविधायुक्त बनेको नजन्मियून्।”

उनले बस्तीमा डोजर चलाइए मजदुरहरूले प्रतिकार गर्ने र देशमा अर्को आन्दोलन सिर्जना हुने चेतावनी दिए।

त्यस्तै, संघर्ष समिति कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङले वर्तमान सरकारले सुकुम्बासीहरूलाई सुरुमै शत्रुको रूपमा हेर्नु गलत भएको बताए।

सुकुम्बासी र मजदुरहरूले शहर बिगारेको नभई शहर निर्माणमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति कुल प्रसाद अधिकारी र नेपाल कम्युनिष्ट पार्टीका वडा अध्यक्ष टेक प्रसाद अधिकारीले सुकुम्बासी आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममार्फत स्थानीयस्तरमा दुईवटा समितिहरू गठन गरिएका छन् ।

मिलन घलानको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा विकास सुनार, सुक बहादुर गुरुङ, भुपेन्द्र राना, हिरालाल श्रेष्ठ, देवी महतो, भक्त बहादुर थापा, राजु गुरुङ र सबिना नेपाली रहेकी छन् ।

अर्जुन मल्लको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा रुपेन्द्र दर्जी, हरि बहादुर गुरुङ, राजु परियार, केश बहादुर थापा, सुशील तिलिजा पुन, चन्द्रमा घर्ती, सन्जय कार्की र राम बहादुर थापा रहेका छन्।

कार्यक्रममा सुकुम्बासीहरूलाई विकास विरोधीको विल्ला भिराएर अमानवीय हर्कत जारी राखे देशभर रहेका ५५ लाख सुकुम्बासीहरू सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको थियो।

कार्यक्रममा संघर्ष समितिका सह-संयोजक रमेश बयलकोटी र सल्लाहकार राम बहादुर लामीछाने लगायतले आफ्ना भनाइहरू राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: