
पोखरा। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २, तार्कुडाँडाको भंगारामा अवस्थित मनकौरी देवीको मन्दिर १११ वर्षभन्दा लामो इतिहास बोकेर पनि आवश्यक प्रचारप्रसार र प्रवर्द्धनको पर्खाइमा रहेको छ । वि.सं. १९७२ मा साक्षात् रूपमा प्रकट भएकी देवीका रूपमा स्थापित यस मन्दिरमा शताब्दीभन्दा बढी समयदेखि निरन्तर श्रद्धा र विश्वासका साथ पूजाआजा हुँदै आएको छ ।
श्रद्धा र भक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहे पनि ओझेलमा परेको यस ऐतिहासिक तथा धार्मिक क्षेत्रको महत्त्वलाई उजागर गर्न स्थानीयले माग गरेका छन् । मनकौरी देवी संरक्षण समितिका अध्यक्ष नेत्रबहादुर गुरुङ (बले) का अनुसार वि.सं. १९७२ मा तार्कुडाँडाको डुम्री पानी भनिने खानेपानी पँधेरो नजिकै सुनको जस्तो टीका लगाएकी एक बालिका देखिन थालिन् । टाढाबाट देखिने तर नजिक जाँदा हराउने ती बालिका पटक(पटक फरक ठाउँमा देखिन थालेपछि स्थानीयले ज्योतिषीकहाँ हेराएका थिए ।
ज्योतिषीले उक्त स्थानमा देवी उत्पन्न भएको बताएपछि पँधेरो नजिकै खरले छाएको र माटोको गारो भएको मन्दिर बनाई बीचमा काठको मौलो स्थापना गरियो, जसलाई मनकौरी देवी नाम दिइयो । मन्दिर निर्माणका क्रममा बायाँतर्फ खनिएको कुण्डको बीचमा रहेको माटोको ढिस्कोलाई स्थानीय मकानसिंह गुरुङले कोदालोले खन्दा रगत बगेको र पछि सोही स्थान देवी उत्पत्तिको मुख्य स्थल रहेको पुष्टि भएको इतिहास छ ।
लामो समयपछि वि.सं. २०३५ सालतिर उक्त कुवाको ढुङ्गामा पुनः सुनको जस्तो पहेंलो टीका देखिएको र पछि मन्दिर पुनर्निर्माण गरेपछि उक्त टीका स्वतः हराएर मन्दिर भित्र सरेको अध्यक्ष गुरुङले आफ्नो प्रत्यक्ष अनुभव सुनाए । उनका अनुसार यस मन्दिरभित्रको पूजा कन्ये केटा अविवाहित बालकले गर्नुपर्ने अनौठो र विशिष्ट परम्परा रहेको छ ।
मन्दिरमा प्रत्येक महिनाको पूर्णिमाका दिन पूजाआजा हुने गरे पनि साउन महिना, एकादशी र औंसीमा भने पूजा गरिँदैन । यहाँ बोका, पाठी र कुखुराको बलि चढाइनुका साथै परेवा उडाउने प्रचलन समेत रहेको छ ।
मन्दिरको मूल ढोकाका साथै बायाँतर्फ एउटा सानो ढोका छ, जसको अगाडि जलकुण्ड रहेको छ । मन्दिरभित्रको शिला प्रत्येक दिन स्नानका लागि सोही कुण्डतर्फ सर्ने गरेको अचम्मको जनविश्वास स्थानीयमा रहेको छ । जस्तोसुकै खडेरीमा पनि यो जलकुण्डको पानी कहिल्यै नसुकने स्थानीय गुनसरी गुरुङले बताए ।
स्थानीय पुराना बासिन्दा मुकुन्दराज घिमिरेका अनुसार मनकौरी देवी मन्दिर क्षेत्रलाई एकदिवसीय हाइकिङ (पदयात्रा) मार्गका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ ।
तनहुँको कोत्रेबाट सुरु भई एक्लेखेत, मनकौरी देवी मन्दिर (भंगारा), मकानपुर, भुजिकोट, दगाम, थप्रेकको तल्लीपोखरी, सेराबेँशी हुँदै कास्कीको गगनगौडासम्मको करिब ५ घण्टाको पदमार्ग निर्माण गर्न सके यस क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउन सकिने घिमिरेको भनाइ छ ।
मन्दिरको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै स्थानीयवासीले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन् । शुक्लागण्डकी नगरपालिका घोषणा भएपछि वि.सं. २०७८ सम्म दुई चरणमा विनियोजित ४ लाख ५० हजार रुपैयाँ र स्थानीय जनसहभागिता समेत गरी कुल १० लाख ५५ हजार रुपैयाँको लागतमा मन्दिर ढलान लगायतका पूर्वाधारका कामहरू सम्पन्न भइसकेका छन् ।
यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ र कास्कीको सिमाना कोत्रेबाट एक्लेखेत, तार्कुडाँडा, भंगारा, मकानपुर हुँदै राब्दी चल्ने मोटरबाटोलाई समेत मन्दिरकै सम्मान र महत्त्वमा ‘मनकौरी मोटरमार्ग’ नामाकरण गरिएको छ । तथापि, यस क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउन थप सरकारी सहयोग र सञ्चारमाध्यमको प्रवर्द्धन आवश्यक रहेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।
