
पोखरा । पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत एमबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । एमबीएस चौथो सेमेस्टर (भर्ना वर्ष २०२४) का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यशाला जेठ १७ गतेसम्म सञ्चालन हुनेछ ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख धर्मराज बरालको प्रमुख आतिथ्यता तथा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख बरालले उच्च शिक्षामा अनुसन्धानको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूमा अनुसन्धान संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।
उनले विश्वविद्यालयीय शिक्षाको प्रमुख उद्देश्य केवल पाठ्यक्रम पूरा गर्नु मात्र नभई अनुसन्धान, विश्लेषण र नवीन ज्ञान सिर्जनातर्फ विद्यार्थीलाई प्रेरित गर्नु रहेको धारणा व्यक्त गरे।
क्याम्पसले विद्यार्थीहरूको अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्न नियमित रूपमा विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले यस कार्यशालाले विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तावना तयार गर्ने, अनुसन्धान समस्या पहिचान गर्ने तथा वैज्ञानिक ढंगले अध्ययन सञ्चालन गर्ने सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संयोजक भण्डारीले अनुसन्धान प्रस्तावना लेखन अनुसन्धान प्रक्रियाको पहिलो र महत्वपूर्ण चरण भएको उल्लेख गरे। उनले गुणस्तरीय अनुसन्धानका लागि समस्या छनोट, उद्देश्य निर्धारण, साहित्य समीक्षा, परिकल्पना निर्माण, अनुसन्धान विधि तथा तथ्याङ्क विश्लेषणसम्बन्धी ज्ञान अपरिहार्य हुने बताए ।
कार्यशालामार्फत विद्यार्थीहरूले अनुसन्धान प्रस्तावनाको संरचना, लेखन शैली, उद्धरण तथा सन्दर्भ व्यवस्थापन, अनुसन्धान नैतिकता र तथ्याङ्कीय विश्लेषणका आधारभूत पक्षहरूबारे व्यावहारिक ज्ञान प्राप्त गर्ने जानकारी दिए।
उनका अनुसार कार्यशालामा सहभागी विद्यार्थीहरूले दुई दिनको अवधिमा समूह तथा व्यक्तिगत रूपमा नमुना अनुसन्धान प्रस्ताव तयार गरी समापन सत्रअघि प्रस्तुति गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराउनुका संयोजक सन्तोष भण्डारीले गरेका थिए ।
