
पोखरा। पोखरामा सञ्चालित ‘हरित रोजगारी सिर्जना परियोजना’ को अवलोकन तथा सिकाई आदानप्रदानका लागि धनगढी उप-महानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा आइपुगेको छ।
सो क्रममा टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन ‘जिभिजेड सेन्टर’ को स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा पोखरा महानगरपालिकामा रिसाइक्लिङ (पुनः चक्रण) र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले यो परियोजना निर्माण भइरहेको हो।
अवलोकनका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो परियोजना पुनः प्रयोग गर्न सकिने सामग्रीहरू मार्फत उपयोगी वस्तु (आरयु उत्पादनहरू) निर्माण गर्ने सन्दर्भमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
प्रमुख आचार्यका अनुसार यस नवीन परियोजनाले महानगर क्षेत्रभित्र ३ हजारभन्दा बढी हरित रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ, जसले वातावरणीय दिगोपन र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछ ।
फोहोर व्यवस्थापन र हरित अर्थतन्त्रको विकासमा दुई ठूला उप-महानगर र महानगरबिचको यो सिकाई आदानप्रदान तथा अवलोकन भ्रमणलाई निकै सकारात्मक रूपमा हेरिएको छ ।
अवलोकन टोलीमा धनगढी उप(महानगरपालिका र पोखरा महानगरपालिकाका अन्य जनप्रतिनिधि एवं प्राविधिक पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
