पोखरा बसपार्क क्षेत्रमा सडक विस्तारका लागि नापजाँच सुरु, मापदण्डभित्रका संरचना हटाइने

Share:

पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रको राजमार्गतर्फ सडक विस्तारका लागि नापजाँच तथा रेखांकनको काम सुरु गरेको छ ।

सेतीपुलको दक्षिणतर्फ निर्माणाधीन नयाँ पुलसँगै जोडिएको सडकखण्ड निर्माण र कालोपत्रे गर्नका लागि महानगरले शुक्रबारदेखि यो प्रक्रिया अगाडि बढाएको हो ।

महानगरपालिकाले राजमार्गको केन्द्रबिन्दुबाट २५ मिटर मापदण्ड र थप २ मिटर सेटब्याक कायम गरी सडकका लागि आवश्यक क्षेत्र उपलब्ध गराउने तयारी गरेको छ ।

यो खण्डअन्तर्गत पुलसँग सम्बन्धित सडकको पूर्वतर्फ निर्माण हुन बाँकी भाग र पश्चिमतर्फ पोखरा घरसम्मको सडक निर्माण तथा कालोपत्रे गर्ने जिम्मा सम्बन्धित निर्माण कम्पनीलाई नै दिइएको छ ।

निर्माण कार्यलाई गति दिनका लागि सडकको क्षेत्राधिकार खाली गराउने दायित्व महानगरपालिकाको भएकाले नापजाँच कार्य अघि बढाइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

मापदण्डभित्रका संरचना स्वतः हटाउनुपर्ने

नापजाँचका क्रममा कुनै पनि भौतिक संरचना वा व्यापारिक सटरको भाग निर्धारित मापदण्डभित्र परेको पाइएमा ती संरचनाहरू हटाउनुपर्ने महानगरले जनाएको छ । सम्बन्धित घरधनी वा सरोकारवालाले स्वतः त्यस्ता संरचनाहरू मापदण्डअनुसार पछाडि सार्नुपर्नेछ ।

यस क्षेत्रमा सडक खाली गराउन महानगरले डोजर वा बल प्रयोग गर्छ कि गर्दैन भन्ने सर्वसाधारणको चासोका बीच मेयर आचार्यले कानुनी मापदण्डलाई नै आधार बनाइने स्पष्ट पारे ।

‘त्यसैले यहाँ प्रश्न डोजर प्रयोग गर्ने वा नगर्नेभन्दा पनि कानुनी रूपमा निर्धारण गरिएको मापदण्ड कार्यान्वयन गर्ने विषयसँग सम्बन्धित छ,’ मेयर आचार्यले भने ।

अदालतको रोक छैन: मेयर आचार्य

यसअघि राजमार्ग विस्तारको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परे पनि निर्माण कार्यमा कुनै अवरोध नभएको महानगरको दाबी छ ।

‘सम्मानित अदालतबाट राजमार्ग निर्माण नगर्नु भन्ने आदेश भएको छैन,’ मेयर आचार्यले स्पष्ट पार्दै भने, ‘त्यसैले निर्धारित मापदण्डअनुसार सडक निर्माण तथा विस्तारका कार्यहरू कानुनी प्रक्रिया अनुरूप अगाडि बढाइनेछन् ।’

मेयर आचार्यले पोखराको गौरव र विकाससँग जोडिएको सडक विस्तारको यो काममा सहयोग, समझदारी र सकारात्मक साथ दिनका लागि सम्पूर्ण सरोकारवालाहरूसँग आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: