
पोखरा । करिब आधा शताब्दीदेखि विभिन्न विवाद र अवरोधका कारण रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको बाटो खुलेको छ।
पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि जारी विवाद अन्त्य गर्दै बसपार्क निर्माणलाई अघि बढाउने सहमति भएको छ।
पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति गरेका छन्।
अदालतले यसअघि अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आगामी २६ गते छलफलका लागि उपस्थित हुन निर्देशन दिएको थियो। तर त्यसअघि नै आपसी समझदारी भएपछि विवाद समाधानतर्फ अघि बढेको हो।
दुवै पक्षबीच भएको सहमतिअनुसार बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, भविष्यमा निर्माण गरिने सबै संरचना महानगरपालिकाले तोकेको मापदण्डअनुसार निर्माण गरिनेछ।
हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू भने आजको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति भएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले लामो समयदेखि अल्झिएको पोखरा बसपार्क निर्माणको मार्ग अब प्रशस्त भएको उल्लेख गर्दै यस प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
सहमतिसँगै बहुप्रतिक्षित पोखरा बसपार्क निर्माण कार्यले अब तीव्र गति लिने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ।
