रास्वपा गण्डकीमा नेतृत्वको घम्साघम्सी : गौतम, त्रिपाठी, खड्का र कार्की मैदानमा

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको संघारमा पुगेको छ। स्थानीय र जिल्ला तहका अधिवेशन सम्पन्न गरिसकेको रास्वपाले अब प्रदेश नेतृत्व चयनतर्फ ध्यान केन्द्रित गरेको छ। यसैक्रममा गण्डकी प्रदेश अधिवेशन शुक्रबार पोखरा सभागृहमा हुँदैछ।

अधिवेशन नजिकिँदै जाँदा रास्वपा गण्डकी प्रदेशको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले पार्टीभित्र विशेष चर्चा पाएको छ। वर्तमान सभापति राजन गौतम, महासचिव नवीन त्रिपाठी, हालै पार्टी प्रवेश गरेका कुमार खड्का तथा वैकल्पिक राजनीतिक अभियानका अभियन्ता डा. हरि कार्की सम्भावित दाबेदारका रूपमा चर्चामा छन्।

रास्वपा गण्डकीका सभापति राजन गौतमले अधिवेशनबाट पुनः सभापति बन्ने इच्छा सार्वजनिक गरिसकेका छन्। आफू अधिवेशनबाट निर्वाचित नभई नेतृत्वमा आएको स्मरण गराउँदै उनले यसपटक प्रतिनिधिहरुको मतबाट नेतृत्वको वैधानिक जिम्मेवारी लिन चाहेको बताएका छन्। उनले प्रदेश संगठनलाई अनुभवी र परिपक्व नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी प्रदेश तथा स्थानीय निर्वाचनलाई लक्षित गरेर आफू पुनः नेतृत्वमा आउन इच्छुक रहेको बताए।

महासचिव नवीन त्रिपाठीले पनि सभापति पदमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। वर्तमान सभापति संघीय सांसद भइसकेको अवस्थामा पार्टीले दोहोरो भूमिका कम गर्ने नीति लिएको भन्दै उनले आफू नेतृत्व सम्हाल्न तयार रहेको धारणा राखेका छन्। जिल्लादेखि पालिका तहसम्मका प्रतिनिधिहरूको समर्थन आफूले पाएको दाबी पनि उनले गरेका छन्।

केही समयअघि नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका नेता कुमार खड्काको नाम पनि सम्भावित सभापति उम्मेदवारको सूचीमा चर्चामा छ। यद्यपि उनले व्यक्तिगत रूपमा पदको आकांक्षा नरहेको बताउँदै सर्वसम्मत नेतृत्व निर्माण भए जिम्मेवारी लिन तयार रहेको संकेत दिएका छन्। प्रतिस्पर्धाभन्दा सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ।

यसबीच वैकल्पिक राजनीति र सामाजिक अभियानका परिचित नाम डा. हरि कार्कीको सम्भावित उम्मेदवारीले पनि पार्टीभित्र नयाँ बहस सिर्जना गरेको छ। स्थानीय तहलाई निर्दलीय बनाउने अभियान, लौरो अभियान, नागरिक बचाउ अभियान र नागरिक विद्रोहजस्ता विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गरेका कार्की पछिल्लो समय रास्वपाको केन्द्रीय सहकारी विभाग सदस्यका रूपमा क्रियाशील छन्।

पार्टीभित्रका विभिन्न स्रोतका अनुसार कार्कीले उम्मेदवारी दिएमा प्रदेश नेतृत्वको प्रतिस्पर्धा थप रोचक र बहुआयामिक बन्न सक्छ। वैकल्पिक राजनीतिक धाराबाट आएका कार्यकर्ता र लौरो अभियानसँग आबद्ध समूहहरूको समर्थन उनको पक्षमा देखिन सक्ने आकलन गरिएको छ।

यद्यपि पार्टी नेतृत्वले सकेसम्म सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरिरहेको जनाएको छ। सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ।

प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा देखिएको बहुआकांक्षी नेतृत्व प्रतिस्पर्धाले रास्वपा गण्डकीमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ। सर्वसम्मत नेतृत्व कि निर्वाचन ? र यदि निर्वाचन भयो भने सभापतिको कुर्सी कसले जित्ला ? यसको उत्तर अब अधिवेशनको परिणामले दिनेछ।

कमेन्ट गर्नुहोस्
Share: