
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न व्यापक अभियान सञ्चालन गर्दै विभिन्न प्रकृतिका २०६ वटा मुद्दा दर्ता गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ।
यस अवधिमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत पक्राउ गरेको छ।
बिहीबार सार्वजनिक गरिएको मासिक प्रगति विवरणअनुसार जेठ महिनामा सबैभन्दा बढी ६६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। त्यस्तै अभद्र व्यवहारका ४०, ठगी तथा आपराधिक विश्वासघातका २० र लागुऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीले यस अवधिमा लागुऔषध कारोबारमा संलग्न विभिन्न समूहलाई पक्राउ गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। रौतहट घर भई पोखरा-२९ तालचोक बस्दै आएकी २२ वर्षीया रुबिना खातुनलाई ३१ ग्रामभन्दा बढी खैरो हिरोइन र ११ लाख ४८ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ।
विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा लागुऔषध र ठूलो परिमाणको नगद बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी नेदरल्याण्ड्सबाट हुलाकमार्फत चिठ्ठीभित्र लुकाएर पठाइएको १ हजार थान एलएसडी स्टिकरसहित भारतका २८ वर्षीय आयुष अजित पक्राउ परेका छन्।
पोखरा-६ लेकसाइडस्थित हुलाक कार्यालयमा शंकास्पद चिठ्ठी बुझ्न पुगेका उनलाई निगरानीका क्रममा नियन्त्रणमा लिइएको हो। उनको साथबाट ७ लाख ४० हजार रुपैयाँ नगद समेत बरामद भएको छ।
यस्तै पोखरा-५ पस्याङका २९ वर्षीय मनिष शाही ठकुरीलाई ३८ हजार ३४० चक्की टापेन्टाडोल र १ लाख ८९ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीले जेठ महिनामै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा ३४ पुरुष र ३१ महिला रहेका छन्।
उनीहरूबाट १४ वर्ष ४ महिना २९ दिन कैद सजाय र ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो। पक्राउ परेका प्रतिवादीमध्ये २३ जना चेक अनादर, १८ जना चोरी तथा अन्य विभिन्न सार्वजनिक अपराधमा सजाय पाएका व्यक्ति रहेका छन्।
विदेशी नागरिकको संलग्नतामा भएका घटनामा पनि प्रहरीले कारबाही तीव्र बनाएको छ। युगाण्डाका ४७ वर्षीय सामिम बासाबे र ५० वर्षीय टोना मारी अहमिम्बिसिब्वेलाई एक नेपाली नागरिकको ७ हजार रुपैयाँ र परिचयपत्र चोरी गरेको आरोपमा पक्राउ गरिएको छ।
साथै अन्य तीन युगाण्डाली नागरिकलाई मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।
चोरीका घटनामा संलग्न गिरोहलाई समेत प्रहरीले कानुनी दायरामा ल्याएको छ। पोखरा-१८ खपौदीमा घर फोरेर ५ तोला सुन तथा अन्य सामग्री चोरी गर्ने २७ वर्षीय साजन सुनार र चोरीको सुन खरिद गर्ने ५६ वर्षीय नारायणलाल विक पक्राउ परेका छन्। उनीहरूविरुद्ध १८ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
अर्को चोरी प्रकरणमा सन्तोष लामिछाने, राजेन्द्र परियार, रोसन परियार, विशाल नेपाली र टिकाराम विश्वकर्मासहित पाँच जनाविरुद्ध ३ लाख ९६ हजार रुपैयाँ नगद तथा सुन चोरीको आरोपमा मुद्दा चलाइएको छ। अदालतको आदेशअनुसार केही अभियुक्त कारागार चलान भएका छन् भने केही धरौटीमा रिहा भएका छन्।
ट्राफिक व्यवस्थापनमा पनि प्रहरीले सक्रियता बढाएको छ। न्युरोड, सभागृह चोक र चिप्लेढुंगा क्षेत्रका फुटपाथमा जथाभावी पार्किङ गरिएका १ हजार ६० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। यस्तै ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननमा संलग्न १४ वटा सवारीसाधन नियन्त्रणमा लिई स्थानीय तहमार्फत २ लाख २९ हजार रुपैयाँ जरिवाना गराइएको छ।
यस अवधिमा प्रहरीले ५ किलो १५० ग्राम र ३ किलो ४०० ग्राम गाँजासहित चार जनालाई समेत पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा सार्वजनिक सुरक्षा मजबुत बनाउने अभियान आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।
