
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको नयाँ सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित भएका छन्। पोखरामा सम्पन्न प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति भएको मतदानको मतगणना शनिबार बिहान सकिँदा त्रिपाठीले २३४ मत प्राप्त गर्दै पहिलो चरणमै विजयी भएका हुन्।
निर्वाचन समितिका संयोजक डा. राम गुरुङका अनुसार रास्वपाको विधानअनुसार सभापति बन्न कुल खसेको मतको ५१ प्रतिशत मत आवश्यक पर्ने व्यवस्था छ। कुल ४३७ मत खसेको निर्वाचनमा त्रिपाठीले आवश्यक मत सहजै कटाउँदै नेतृत्व आफ्नो पक्षमा पारे।
त्रिपाठी प्रदेश समितिका निवर्तमान महामन्त्रीसमेत हुन्। सभापतिको प्रतिस्पर्धामा रहेका निवर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमले १८२ मत प्राप्त गरे भने माधव कँडेलले ११ र डा. हरि कार्कीले २ मत पाए।
अधिवेशनमा कुल ७८० प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था भए पनि मतदानमा ४३७ जनामात्र सहभागी भएका थिए। यसैबीच, प्रदेश सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेकोमा विभिन्न क्लस्टरसहित ३३ जना निर्वाचित हुनेछन्। उम्मेदवारमध्ये १२ जना भने निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्विरोध निर्वाचित हुनेहरूमा क्षेत्रगत सदस्यतर्फ बागलुङ-१ की मीना शर्मा आचार्य, गोरखा–१ का मनोज गुरुङ, गोरखा–२ का बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की र तनहुँ–१ का सूर्यमणि पौडेल रहेका छन्।
समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा गण्डकीको पहिलो अधिवेशनको उद्घाटन शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए। नयाँ नेतृत्व चयनसँगै प्रदेश संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
