पोखरामा दोस्रो खेलकुद महोत्सव सुरु : समावेशी खेलदेखि मार्सल आर्टसम्मको उत्सव

Share:

पोखरा । खेल प्रतिभाको खोजी, खेल संस्कृतिको प्रवर्द्धन र समावेशी सहभागितालाई केन्द्रमा राख्दै ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल-२०८३’ शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको महोत्सवले पोखरालाई खेलमय बनाएको छ।

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदलाई स्वस्थ जीवन, अनुशासन र व्यक्तित्व विकासको आधारस्तम्भ भएको बताए। विद्यालय तहबाटै खेलकुदको विकास र प्रवर्द्धन गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।

महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रमुख आचार्यले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधिलाई एकीकृत गर्दै महोत्सव आयोजना गरिएको बताए। उनले आगामी वर्ष पनि खेलकुदलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारका अनुसार महोत्सव असार ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा ११ वटा विभिन्न खेल विधा समावेश गरिएका छन्, जसमा दुई राष्ट्रियस्तरका प्रतियोगिता र पाँच ग्रासरुट तहका खेल कार्यक्रम रहेका छन्।

महोत्सवको विशेष आकर्षणका रूपमा समावेशी खेल प्रतियोगितालाई प्राथमिकता दिइएको छ। ह्विलचेयर बास्केटबल, बौद्धिक अपांगता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेट जस्ता प्रतियोगिताले खेलकुदमा सबैको पहुँच सुनिश्चित गर्ने सन्देश दिएका छन्।

कार्यक्रममा खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर गुरुङ, सदस्य पोषणबहादुर थापा लगायतले खेलकुद विकासमा समावेशी सहभागिता र अवसर विस्तारको आवश्यकता औंल्याएका थिए। कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए।

महोत्सवअन्तर्गत सम्पन्न दृष्टिविहीन क्रिकेट प्रतियोगितामा टिम ‘बी’ विजेता र टिम ‘ए’ उपविजेता बनेका छन्। विजेता टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ।

यसैबीच, मार्सल आर्ट फेस्टिभल-२०८३ अन्तर्गतको मुवाथाई प्रतियोगिताको पनि उद्घाटन गरिएको छ। सो अवसरमा अन्तर्राष्ट्रिय मुवाथाई प्रशिक्षक दीपक श्रेष्ठलाई खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

उद्घाटन समारोहमा प्रस्तुत सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप रंगीन र आकर्षक बनाएको थियो। खेलाडी, प्रशिक्षक र खेलप्रेमीको उल्लेख्य सहभागितासहित सुरु भएको महोत्सवले पोखरामा खेलकुदको नयाँ ऊर्जा थपेको आयोजकको विश्वास छ।

कमेन्ट गर्नुहोस्
Share: