अमेरिकामा विमान दुर्घटना, एक पाइलटसहित १२ जनाको मृत्यु

Share:

काठमाडौं। अमेरिकाको मिसौरी राज्यमा भएको विमान दुर्घटनामा ११ जना स्काइडाइभर र एक पाइलटसहित १२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार स्काइडाइभिङ कम्पनीले भाडामा लिएको उक्त विमान आइतबार स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे उडेको थियो।

बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयका प्रवक्ताका अनुसार विमानले आवश्यक उचाइ लिन नसकेपछि अचानक बायाँ मोडिएको थियो र बटलर मेमोरियल विमानस्थलबाट करिब २०० यार्ड टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार सबै १२ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

बेट्स काउन्टीका शेरिफ चाड एन्डरसनले पत्रकार सम्मेलनमा यस घटनालाई ‘सामूहिक मानवीय क्षति’ का रूपमा लिइएको बताएका छन्। उनले दुर्घटनाग्रस्त विमान कुनै व्यावसायिक यात्रुवाहक विमान नभई स्थानीय विमानस्थलबाट उडेको एउटा सानो विमान रहेको जानकारी दिए।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दुर्घटनाग्रस्त विमान ‘प्यासिफिक एरोस्पेस पी-७५०’ मोडेलको थियो। विमान उड्ने क्रममा दुर्घटनामा परेको एफएएले जनाएको छ। एफएएले दुर्घटनाको समयमा हवाई यातायात नियन्त्रण सेवा उपलब्ध नभएको उल्लेख गर्दै विमान उडिरहेको हवाई क्षेत्रको प्रकृतिअनुसार पाइलटले अनिवार्य रूपमा नियन्त्रण टावरसँग सम्पर्कमा रहनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि उद्धारकर्मीहरूले कुनै स्काइडाइभर विमानबाट हाम फाल्न सफल भए वा नभएको विषयमा पनि खोजबिन गरेका थिए। शेरिफ एन्डरसनका अनुसार मृतकमध्ये केहीका परिवारजनले दुर्घटना प्रत्यक्ष देखेका थिए। अहिलेसम्म मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन।

बटलर सहर क्यान्सस सिटी महानगरीय क्षेत्रबाट करिब ५० माइल दक्षिणमा अवस्थित छ। दुर्घटनाको अनुसन्धान अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले गरिरहेको छ भने एफएएले पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: