पोखरामा सडक दुर्घटना परी नेविसंघका पूर्वकेन्द्रीय सदस्य राजीव बाँस्तोलाको निधन

Share:

पोखरा । पोखरामा आइतबार साँझ भएको सडक दुर्घटनामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको निधन भएको छ।

३२ वर्षीय बाँस्तोला कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखराको सिर्जनाचोक र सभागृहचोकबीच बा.प्र. ०३-००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले उनले चलाएको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

साँझ करिब ५ः३० बजेतिर भएको उक्त दुर्घटनापछि बाँस्तोला सडकमा लडेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए।

बाँस्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य तथा कास्की क्षेत्र नम्बर ३ का नेता खिमलाल बाँस्तोलाका छोरा हुन्। अविवाहित रहेका उनी विद्यार्थी राजनीतिमा सक्रिय र लोकप्रिय युवा नेताका रूपमा परिचित थिए।

दुर्घटनामा संलग्न रेडी मिक्स्चर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक मकवानपुर हेटौंडाका ४० वर्षीय राजन अधिकारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ भने बाँस्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पतालमा राखिएको छ।

सोमबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: