
पोखरा। कास्की जिल्लामा सक्रिय ज्येष्ठ नागरिक सम्बन्धी विभिन्न संघ-संस्थाले ज्येष्ठ नागरिकका हक अधिकार सुनिश्चित गर्न तथा प्रचलित ऐन-कानुनमा भएका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापनपत्र बुझाएका छन्।
पोखरामा आयोजित प्रदेशस्तरीय ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना कार्यक्रम मा बोल्दै गण्डकी ज्येष्ठ नागरिक संघका अध्यक्ष केशव पराजुली ले महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकारका लागि संगठित रूपमा आवाज उठाउँदै आएको उदाहरण दिँदै ज्येष्ठ नागरिकहरूले पनि आफ्ना अधिकारका लागि पहल गर्नु स्वाभाविक भएको बताए। उनले ज्ञापनपत्रमा समेटिएका मागहरू कार्यान्वयनमा ढिलाइ भए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिए।
ज्ञापनपत्रमा सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई कानुनअनुसार ५० प्रतिशत भाडा छुटको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, त्यसका लागि स्थानीय सरकार, जिल्ला प्रशासन, यातायात व्यवसायी तथा ज्येष्ठ नागरिक संघबीच समन्वयात्मक बैठक आयोजना गर्नुपर्ने माग गरिएको छ।
यस्तै, स्वास्थ्य बीमा अन्तर्गतका अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन, सहज स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवाको व्यवस्था गर्नुपर्ने विषय पनि प्रमुख रूपमा उठाइएको छ। सामाजिक सुरक्षा भत्ता नवीकरण तथा नयाँ परिचयपत्र वितरणका क्रममा अशक्त र घरबाहिर जान नसक्ने ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउनुपर्ने माग समेत गरिएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार, मानसिक तथा शारीरिक यातना, सम्पत्ति सम्बन्धी विवाद र पारिवारिक उत्पीडनका घटनालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवाज उठाइएको थियो। यस्ता घटनामा पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव समेत प्रस्तुत गरिएको थियो।
सहजकर्ता तथा अधिवक्ता विष्णु प्रसाद पौडेल ले असहाय तथा अशक्त ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रमार्फत संरक्षण, उपचार र स्याहारको व्यवस्था प्रभावकारी बनाउन स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए। उनले कानुनमा रहेका प्रावधानहरू व्यवहारमा लागू हुन नसक्दा धेरै ज्येष्ठ नागरिक अधिकारबाट वञ्चित भइरहेको उल्लेख गरे।
ज्ञापनपत्र बुझ्दै हालै कास्कीका प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका कुमान सिंह गुरुङ ले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै जायज मागहरू सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
गण्डकी ज्येष्ठ नागरिक संघ र पोखरा वृद्धाश्रमद्वारा संयुक्त रूपमा आयोजित उक्त सचेतना कार्यक्रममा कास्की जिल्लाका विभिन्न ज्येष्ठ नागरिक संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वरिष्ठ मनोपरामर्शविद् सम्झना पराजुली, विपश्यना ध्यान केन्द्र पोखराका कृष्णबहादुर कार्की तथा नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका धर्मबहादुर गुरुङ ले सहजीकरण गरेका थिए।
