
पोखरा। हिमाली पर्यटन, ट्रेकिङ संस्कृति तथा सांस्कृतिक सम्पदाको अध्ययन गर्ने उद्देश्यले ईम्ब्राइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले बागलुङको प्रसिद्ध ढोरपाटन क्षेत्रमा तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ।
पर्यटनका नयाँ आयाम, हिमाली क्षेत्रको बदलिँदो ट्रेकिङ संस्कृति, प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक पर्यटन तथा वन्यजन्तु अवलोकनको सम्भावना पहिचान गर्न आयोजित भ्रमणमा ४८ सदस्यीय टोली सहभागी भएको थियो।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालका अनुसार भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन, स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा पोखराको लेकसाइड र ढोरपाटनबीच पर्यटन विकासका सम्भावित सहकार्यबारे छलफल गरिएको थियो।
नेपालकै एकमात्र कानुनी सिकार आरक्षणका रूपमा परिचित ढोरपाटन प्राकृतिक सौन्दर्य, जैविक विविधता र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय स्तरमै चर्चित छ। आरक्षण क्षेत्रमा निश्चित सिजन र अनुमति प्राप्त गरेपछि सीमित संख्यामा नाउर तथा झारलको सिकार गर्न पाइने व्यवस्था रहेको छ।
संस्थाकी उपाध्यक्ष गीता ढकालले चार हजार मिटरभन्दा बढी उचाइमा अवस्थित बुकी पाटनको यात्राले आफूहरूलाई फरक अनुभूति दिलाएको बताइन्। उनका अनुसार उच्च हिमाली घाँसे मैदान, मनोरम हिमशृङ्खला तथा प्राकृतिक वातावरणले ढोरपाटनलाई विशेष पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ।
संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डेले टोलीले ढोरपाटन क्षेत्रमा रहेको उत्तरगंगा नदीको मुहानसहित विभिन्न प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरूको अवलोकन गरेको जानकारी दिए।
यात्राका क्रममा दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, ट्रेकिङ तथा प्रकृतिसँग नजिक रहने अवसर प्राप्त भएको सचिव माया सुवेदीले बताइन्। उनका अनुसार भ्रमण मनोरञ्जनसँगै ज्ञानवर्द्धक र अध्ययनमूलक समेत बनेको थियो।
अवलोकन टोलीले बागलुङस्थित प्रसिद्ध बागलुङ कालिका मन्दिरमा दर्शन गरी धार्मिक पर्यटनको पक्षबारे पनि जानकारी लिएको थियो।
भ्रमणमा संस्थाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पदाधिकारी, कार्यसमिति सदस्य, सद्भाव सदस्य तथा संस्थामा आबद्ध व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। भ्रमणको संयोजन संस्थाका सदस्य रामकृष्ण तिमिल्सिनाले गरेका थिए।
भ्रमणपश्चात् सहभागीहरूले ढोरपाटन क्षेत्र हिमाली पर्यटन, प्रकृति अवलोकन, साहसिक यात्रा तथा सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको निष्कर्ष निकालेका छन्। पोखरा र ढोरपाटनबीच पर्यटन प्रवर्द्धनका नयाँ अवसर खोज्न यस्ता अध्ययन भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
