
पोखरा । पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरेको छ।
विद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहमा भर्ना भएका विद्यार्थीका लागि बिहान तथा विज्ञान समूहका विद्यार्थीका लागि दिउँसो छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नयाँ शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको हो।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन माध्यमिक विद्यालय गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासन, लगनशीलता र सकारात्मक सोचका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीको शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासलाई विद्यालयले उच्च प्राथमिकतामा राखेको बताउँदै नियमित अध्ययन, समय व्यवस्थापन र लक्ष्यप्रति प्रतिबद्ध हुन सुझाव दिए। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको चौतर्फी विकासमा निरन्तर ध्यान दिँदै आएको स्पष्ट पारे।
सहायक प्रधानाध्यापक खेमराज बरालले भविष्यलाई दृष्टिगत गरी अध्ययन गर्न विद्यार्थीलाई प्रेरित गर्दै पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन आग्रह गरे। अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यालयको शैक्षिक वातावरण उत्कृष्ट रहेको उल्लेख गर्दै असल साथीको संगत र सकारात्मक व्यवहारले सफलता प्राप्त गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा शिक्षक इन्द्रप्रसाद दाहाल, विद्यालयका पूर्व विद्यार्थी तथा इन्जिनियर सूचना रिजाल लगायतले पनि विद्यार्थीलाई प्रेरणादायी मन्तव्य दिएका थिए।
सो अवसरमा नवप्रवेशी विद्यार्थीलाई विद्यालयको तर्फबाट कलम, वार्षिक मुखपत्र ‘ज्योत्स्ना’ तथा क्यालेण्डर प्रदान गरी औपचारिक स्वागत गरिएको थियो।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षकद्वय लिलानाथ आचार्य (विमल) र दीपक सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।
विद्यालयले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, नियम, अवसर र भविष्य निर्माणका सम्भावनाबारे जानकारी गराउँदै उनीहरूलाई उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।
