व्यावसायिक वातावरण र उपभोक्ता हित दुवैप्रति प्रतिबद्ध छु : प्रजिअ गुरुङ

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघले सोमबार आफ्नै सचिवालय गैह्रापाटनमा विशेष कार्यक्रम आयोजना गरी प्रजिअ गुरुङको सम्मान गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थितिमा प्रजिअ गुरुङलाई स्वागत गर्दै प्रशासन र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्योगी-व्यवसायीले नाफा कमाउनु स्वाभाविक भए पनि त्यससँगै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने र उपभोक्ताको हित संरक्षण गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

उनले व्यवसायीहरूलाई सम्बोधन गर्दै भने, “नाफा कमाउनु व्यवसायीको धर्म हो, तर गलतलाई सही भन्न मिल्दैन। प्रमुख जिल्ला अधिकारीलाई कानूनले गलतलाई सही भन्ने अधिकार दिएको हुँदैन। राज्यले हामीलाई उद्योग–व्यवसाय सञ्चालनका लागि आवश्यक शान्ति–सुरक्षाको वातावरण निर्माण गर्ने अधिकार दिएको छ भने उपभोक्ताको अधिकार संरक्षण गर्ने दायित्व पनि सुम्पेको छ। यी दुवै जिम्मेवारीप्रति म उत्तिकै प्रतिबद्ध छु।”

प्रजिअ गुरुङले आफू पनि विगतमा व्यवसायसँग जोडिएको अनुभव रहेको स्मरण गर्दै उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्न निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष गोकर्ण कार्कीले शान्ति-सुरक्षा व्यवसायी समुदायको प्रमुख चासोको विषय रहेको उल्लेख गर्दै प्रशासन र निजी क्षेत्रबीच सहकार्यको सम्बन्ध अझ सुदृढ हुनुपर्ने बताए।

“हाम्रा माग ठूला छैनन्, शान्ति-सुरक्षाको प्रत्याभूति नै हाम्रो मुख्य चासो हो,” अध्यक्ष कार्कीले भने, “प्रशासन एकातिर र निजी क्षेत्र अर्कोतिर होइन, दुवै पक्ष विकास र समृद्धिका साझेदार हुन्।”

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गर्दै प्राकृतिक विपत्ति तथा विभिन्न चुनौतीपूर्ण परिस्थितिमा पोखरा उद्योग वाणिज्य संघले प्रशासनसँग सहकार्य गर्दै राहत, उद्धार र पुनर्स्थापनाका कार्यहरू सफलतापूर्वक सञ्चालन गरेको स्मरण गराए।

संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी तथा संघका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशासन र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै कास्कीमा लगानी, उद्योग, व्यापार तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: