
काठमाडौं । युवा पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
असार ७, ८ र ९ गते चितवनमा हुने पार्टीको महाधिवेशनमार्फत केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका कार्कीले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफूले योगदान दिन चाहेको बताएका छन्।
रास्वपा काठमाडौं महानगर अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कार्की लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहँदै सफल पर्यटन उद्यमीका रूपमा परिचित छन्।
पर्यटन क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।
कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा पनि सक्रिय छन्। शिक्षा, स्वास्थ्य, नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
विशेषगरी असहाय बालबालिकाको आवास, शिक्षा तथा अधिकारको क्षेत्रमा उनले निरन्तर काम गर्दै आएका छन्।
राजनीतिमा आउनुअघि कार्कीले लामो समय विश्वभाषा क्याम्पसमा जर्मन भाषा अध्यापन गरेका थिए। उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको राजनीतिमा सक्रिय सहभागिताले देशमा सकारात्मक परिवर्तन सम्भव हुने उनको विश्वास छ।
कार्कीले पार्टीभित्र नेतृत्व चयन गर्दा अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिक आधार बनाउनुपर्ने धारणा राखेका छन्। साथै, संगठन विस्तार र जनविश्वास अभिवृद्धिका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन्।
विश्वका ५० भन्दा बढी देशको भ्रमण गरिसकेका कार्कीले अन्तर्राष्ट्रिय अनुभवलाई पनि नेपालको विकास र नीति निर्माणमा उपयोग गर्न सकिने बताएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारहरूको पक्षमा सक्रिय भूमिका खेलेका उनी पार्टीभित्र लामो समयदेखि क्रियाशील रहँदै आएका छन्।
उनका समर्थकहरूले पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा कार्की रास्वपाको केन्द्रीय तहमा जिम्मेवारी सम्हाल्न सक्षम र योग्य उम्मेदवार रहेको बताएका छन्।
